भद्रपुर । अश्लील क्रियाकलापको भिडियो बनाइ महिलालाई धम्काएर ब्लाकमेलिङ्ग गरेको आरोपमा दुई युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने एकजना फरार रहेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका ९ सालवाडीका १७ वर्षीय विजयकुमार मगर र सोही ठाउँका १७ वर्षीय नवीन डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाइ शनिबार विर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । चिया बगानमा महिलासँग अश्लील क्रियाकलाप गरी सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएर ब्लाकमेलिङ गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको तथा सोहि घटनामा संलग्न एक युवक अझै फरार रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले जनाएका छन् । पक्राउ परेका दुवै जनालाई जबरजस्तीकरणी उद्योग र चोरीसम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको डिएसपी कोइरालाले जानकारी दिए । घटनामा संलग्न एकजना फरार रहेकोले खोजी कार्य तीव्र बनाइएको उनले बताए । घटना विवरणअनुसार अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चिया बगानमा बिहीबार दिउँसो साढे १ बजे तीनजना युवकले यस्तो कर्तुत गरेका थिए । इलाम जिल्ला निवासी ३५ वर्षीय ती महिला सुरुंगा सिमलबाडीस्थित मितआमाको घरमा बुधबार घुम्न आएकी थिइन् । त्यसको भोलिपल्ट बिहीबार मितआमाका छोरा अर्थात् नातामा भाइ पर्ने युवकसँग ती महिला मोटरसाइकलमा चढेर बिर्तामोड गएकी थिइन्। बिर्तामोड पुगेर चिया बगानको बाटो भएर फर्किने क्रममा तीन जना युवकले उनीहरूलाई खुकुरी देखाएर रोकेका थिए। मोटरसाइकल रोकपछि ती युवकले महिला र उनका भाइलाई कुटपिट गर्दै धम्क्याएका थिए । एक लाख रुपैयाँ नदिए मोबाइलबाट खिचिएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिन्छु भन्दै ब्लाकमेलिङ गरेको पीडितद्वयले प्रहरीलाई बयान दिएका छन् । अश्लील क्रियाकलाप गरेको भिडियो तथा फोटो बनाइसकेपछि युवकहरुले एक लाख माग गरेका थिए । पीडितका भाइले एक लाख होइन, १० हजार मात्र दिनसक्ने त्यो पनि बैंकबाट निकाल्नुपर्ने बताए । बैंकबाट निकाल्ने सर्तमा युवकहरु सहमत भए, त्यसपछि महिलालाई चिया बगानमा राखेर उनका भाईलाई ती मध्ये एक जनाले मोटरसाईकलमा चढाएर बैंकमा रकम झिक्न बिर्तामोड लगे । बिर्तामोड पुगेपछि युवकलाई छलेर महिलाका भाई इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेर घटनाको सम्पूर्ण जानकारी प्रहरीलाई गरेपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो । बगानमा आपत्तिजनक अवस्थामा रहेकी महिलालाई तत्काल उद्धार गरी दुई जनालाई घटनास्थलबाटै पक्राउ गरेको कोइरालाले जानकारी दिए ।