सुनसरी/ डेढ वर्षपछि (२०७६ असार असार मसान्त) भारतीय सीमा नाका मोरङको विराटनगर रानीबाट सुनसरीको धरानसम्मको बाटो ६ लेनको बनाइसक्ने भनेर हल्लाखल्ला निकै भयो । सरकारी तवरबाटै ०७६ सालमा ६ लेनको बाटो बनिसक्ने भनेपछि यो कोरिडोरमा बसोबास गर्नेहरु उत्साहित भए ।
इटहरी–विराटनगरको झन्झटिलो सडक यात्राबाट मुक्ति मिल्ने आशामा बसेका यस क्षेत्रका बासिन्दाका लागि अहिले निराश खबर छ । रानी–विराटनगर–इटहरी–धरान व्यापारिक मार्ग बिस्तारको काम सम्पन्न हुन आझै केही वर्ष कुर्नुपर्ने भएको छ । सडक बिस्तारको काम सक्नुपर्ने समय सीमा अब एक वर्ष ६ महिना छ । तर काम भने ३२ प्रतिशतको हाराहारीमा मात्रै सम्पन्न भएको छ ।
१० अर्ब ९८ करोड रुपैयाँको लागत अनुमान गरिएको रानी–विराटनगर–इटहरी–धरान व्यापारी सडक आयोजनामा अहिलेसम्म २ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ । खर्च अनुसारको कामको प्रगति ठिकै होला तर समयसीमाका हिसाबले हेर्ने हो भने एक छेउ मात्रै काम भएको आयोजनाका अधिकारीहरु नै स्वीकार गर्छन् । अबको डेढ वर्षमा सबै काम सक्नुपर्ने आयोजनाको साढे १५ किलोमिटर सडकको ठेक्का प्रक्रिया नै सुरु भएको छैन ।
ठेक्का लागेका सडक समेत निर्माण सम्पन्न गर्न यही गतिमा काम भए ३० महिनाभन्दा बढी समय लाग्ने सडक बिस्तार योजनाका इन्जिनियरहरु बताउँछन् । अहिले १३ वटा टुक्रामा ठेक्का लागेको छ । जस मध्ये विराटनगरको वरगाक्षी चोकबाट ढाटसम्मको ३ किलोमिटर सडकको काम मात्रै अन्तिम चरणमा पुगेको छ ।
सडक विस्तार आयोजनाका इन्जिनियर सुमत पोख्रेलले तीन किलोमिटर सडकमा कालोपत्रे भइसकेको र फिनिसिङ गर्ने काम मात्रै बाँकी रहेको बताए । ठेक्का लागेको रानीबाट तरहरासम्मको सडकको काम एक तिहाई पनि भएको छैन । तरहराबाट धरानसम्मको सडकको ठेक्का नै लागेको छैन भने दुहबी बजार क्षेत्रको डेढ किलोमिटरमा पनि ठेक्का लाग्न सकेको छैन । टुक्रा–टुक्रामा सडकको ठेक्का लगाइएकाले कामको समन्वयमा समेत समस्या छ ।