धरान/सुनसरी स्तरीय पहिलो कोहिनुर सुपरमम डान्स प्रतियोगितामा इटहरीकी गंगा राई विजेता बनेकी छन् ।
सैनिक भवनमा सोमबार सम्पन्न प्रतियोगितामा टपटेनका ९ स्पर्धीलाई पछि पार्दै राई विजेता बनेकी हुन् । उनी वेष्ट कन्फिडेन्सको टाइटलसमेत जितिन् । इटहरीकै सुस्मा राई फष्ट रनर अप साथै वेष्ट अर्नामेन्ट्सको टाइटल जितिन् । धरानकी रविना राई तेस्रो बनिन् । सान्तवना पुरस्कार जितेकी नन्दा लिम्बू बेष्ट मेकअपको टाइटलसमेत जितिन् ।
अन्य टाइटलमा बेष्ट स्माइल अञ्जना राई, वेष्ट ड्रेस खेसेहाङ्मा राई, मोष्ट व्युटिफूल रविना राई, बेष्ट डिसिप्लिन सुरेखा लिम्बू र वेष्ट फ्रेण्डसिप रिना चाम्लिङ घोषित हुँदै ट्रफी पाए । विजेता गंगाले फिल्ममा काम गर्ने मौका, तीन महिने निःशुल्क व्युटि कोर्ष, भिडियोमा, विज्ञापनमा खेल्ने मौकासमेत प्राप्त गरेको कार्यक्रम संयोजक रोशन वान्तवा सुच्चा राईले बताए ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, अध्यक्ष चन्द्रकुमारी राईले ट्रफी र प्रमाण पत्र प्रदान गरे । असारदेखि शुरु भएको प्रतियोगितामा ४६ जनाले अडिसन दिएका थिए । विवाहिता नारीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक राईले बताए ।
कार्यक्रममा रोशन वान्तवा, ओम चाम्लिङ, रणदीप राई, कला राई, विशन राई र अस्मिता रिजालले गीतहरु प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायकमा निका मोक्तान, नन्दा राई र मणीकुमार लिम्बू रहेका थिए ।