काठमाडौं /बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ । सोही बहसकाबीच नयाँवर्षको सुरुवातमै केही फरक र नयाँ विषय सुन्नमा आएको छ ।
बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नरगिसको आइकोनिक फिल्म ‘रात और दिन’ को रिमेक अफर गरिएको छ । जसका लागि ऐश्वर्याले निर्माण पक्षसँग ठूलो पारिश्रमिकको प्रस्ताव राखेकी छन् ।
बलिउड सुत्रका अनुसार ऐश्वर्याले फिल्मको निर्माण पक्षसँग १० करोड रुपैयाँ पारिश्रमिकको प्रस्ताव रखेकी हुन् । फिल्ममा ऐश्वर्याले निभाउनुपर्ने दोहोरो भूमिकाका कारण यो प्रस्ताव राखेको बताइएको छ ।
यो प्रोजेक्टमा लामो समय लाग्न सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस प्रोजेक्टका लागि निर्माण पक्षसँग सम्झौता भए ऐश्वर्याले अर्को प्रोजेक्टमा तत्काल काम नगर्ने पनि बताइएको छ । प्राप्त खबर अनुसार ऐश्वर्याको प्रस्तावलाई निर्माण पक्षले स्वीकार समेत गरिसकेको छ । ऐश्वर्या अहिले फिल्म ‘फन्ने खां’ को शूटिङमा व्यस्त छिन् । आगामी ईदमा ऐश्वर्याको फिल्म ‘फन्ने खां’ को रिलीज सलमान खानको ‘रेस ३’ का साथ भिडाइएको छ ।