विराटनगर । गएको साउन महिनामा आएको अविरल वर्षाले घरबार विहीन बनेका विराटनगर–१९ का गुल्टेन रिषिदेवलाई जीवन विकासले घर निमार्ण गरिदिएको छ ।
विराटनगर बजारमा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका ५० वर्षीय गुल्टेनलाई २ कोठे घर निमार्ण जीवन विकासले निमार्ण गरिदिएको हो ।
जाडो कसरी कटाउने भन्ने चिन्तामा रहेका गुल्टेनलाई जीवन विकासले घर निमार्ण गरिदिएपछि खुसी भएका छन् । ७ जना छोराछोरीलाई साँघुरो घरभित्र हुर्काएर राखेका गुल्टेनलाई वर्खाले पार्नुसम्म अप्ठ्यारो पारेको थियो ।
बुधबार उनले आफ्ना टिनको घर देखाउँदै भने, ‘यति भए पनि हामी गरिबलाई राहत भएको छ ।’ त्यसो त त्यही वडाको सिसवनी टोलका बुधनारायण रिषिदेव पनि उत्तिकै खुशी छन् । उनको पनि साउनको बाढीले घर बगाएको थियो । उनले भने, ‘जीवन विकासले हामीलाई राम्रो उद्धार गर्यो ।’
कटहरीमा रहेको जीवन विकास समाजले गरिब तथा विपन्न वर्गका करिब ५ सय परिवारलाई घर बनाइदिने अभियान सुरु गरेको छ । बाँस र टिन उपलब्ध गराउँदै घरधनिलाई नै श्रम अभियान सहभागी गराएर दुई कोठे बाँसको घर बनाइ दिएको छ । जीवन विकास समाजका अध्यक्ष योगन्द्र मण्डलले, ह्याविट्याट, सहारा नेपाललगायतको सहयोग सिंघियाको किनारमा घर बनाइ दिएको बताए ।
बुधबार घरहरूको निरीक्षण गर्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले जीवन विकासलगायतको संस्थाले सुरु गरेको यो अस्थायी प्रकृतीको घर निर्माण राम्रो भएको बताए । उनले भने, ‘अब उनीहरुलाई दीर्घकालिन रुपमा घर र स्थायी बसोबासको व्यवस्था मिलाउन प्रयत्न गर्नेछु ।’ सिसवनी टोलमा ९१ वटा अस्थायी घर बनाइएका छन् ।