विराटनगर । ऐतिहासिक विराटनगर जुट मिल जोगाउन भन्दै स्थानीयवासी र पूर्व कर्मचारीहरुले प्रर्दशन गरेका छन् ।
मिल सञ्चालक समितिले गैरकानुनी तरिकाले हत्याएको शेयर सरकारलाई फिर्ता गर्न माग गर्दै उनीहरुले जुटमिल क्षेत्रमा बिहीबार प्रर्दशन गरेका हुन् ।
विराटनगर जुटमिल क्षेत्रमा रहेको हडताली हाडबाट विराटनगर जुटमिल बचाउ अभियान समितिको अगुवाइमा निस्केको जुलुस बजार परिक्रमा पछि जुटमिल परिसरमा आएर कोणसभा गरेको थियो । संचालक समितिले सरकारको ६८ प्रतिशत शेयरलाई ३८ प्रतिशतमा झारेको भन्दै स्थानीय तथा मिलका पूर्व कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
कोणसभामा बोल्दै जुटमिल बचाउन अभियान समितिका सदस्य र स्थानीयवासीहरुले बन्द उद्योग संचालन गर्ने बहानामा जुटमिलको सम्पत्ति बिक्री गरिएको र शेयर पनि गैरकानुनीरुपमा व्यक्तिगत बनाएर अर्बाैको सम्पत्ती हडप्न खोजिएको आरोप लगाएका छन् ।
स्थानीय भोला पन्तले भने, ‘गेटमा कसैले चेकजाँच गर्दैन, कतिपय सामानहरु बेचिएको भन्ने हामीले थाहा पाएका छौं, माफियाहरुसँग मिलेर जग्गा प्लटिङ पनि गरियो ।’ यस्तै जुटमिलका पूर्व कर्मचारी आइतबार तामाङले यसअघि पनि मिल भ्रष्टाचारका कारण बन्द भएको बताए । ‘पहिले पनि मिलमा भएको भ्रष्टाचारका कारण मिल बन्द भयो,’ उनले भने, ‘अहिले जमिन करोडौंमा बिक्री गर्ने र मिलको अस्तीत्व नामेट पार्ने चलखेल हुँदैछ ।’
केही दिनअघि जुटमिल बचाउ अभियान समितिले पत्रकार सम्मेलन गरेर ५ अर्ब बराबरको सम्पत्ती हडप्ने प्रयास स्वरुप शेयर वितरणमा चलखेल भएको बताएको थियो । उक्त समितिमा मिलका पूर्व कर्मचारी, केही राजनीतिक कार्यकर्ता र केही स्थानीय छन् ।
यता मिलका संचालक समितिका अध्यक्ष बसन्त वन भने जुटमिल संचालन हुन थालेपछि बन्द गराउने अर्को चलखेल भएको बताउँछन् । ‘मिल संचालन हुनुभन्दा अगाडि कुनै आन्दोलन नहुने अहिले फेरि के का लागि आन्दोलन ?,’ वनले भने, ‘हामीसँग छलफल गर्नु कुरा बुझ्नु छैन बाहिर कस्ले के भनेको भरमा आन्दोलन गर्दा मिललाई पनि र स्थानीयलाई पनि फाइदा छैन ।’ वनले जुटमिल भित्र रहेको कुनै पनि भौतिक सामान नहराउने बताए । ‘मिलभित्र रहेको एउटा सियो पनि हराउँदैन,’ वनले भने, ‘म आउनुभन्दा अगाडि के थियो भन्ने कुरा मलाई थाहा छैन, तर हाम्रो टिमले जिम्मा लिइसकेपछि भने एउटा कुनै मालवस्तु हराएको भए त्यसको जिम्मा हामी लिन तयार छौं ।’ मिलको विषयमा सरोकारवाला जो कोही आएर बुझ्न सक्ने बताउँदै वनले मिल संचालन सुरु भएपछि असहयोग गर्ने र अप्ठ्यारो पार्ने काम राम्रो नभएको बताए ।