भद्रपुर । केही महिना भन्सारका कर्मचारीले कडाई गरेपनि माघ महिना अधिृकतसहितको कर्मचारीको नयाँ टोली भन्सारमा आएपछि फेरी साँठगाँठ सुरु भएको छ झापाको मेची भन्सार कार्यालय काकँडभिट्टा अन्तरगत रहेको भद्रपुर छोटी भन्सारका कर्मचारीले बुधवार दिउँसो एक पिकअप भेनमा लोड भएको सामान सस्तो राजश्वमा प्रज्ञापनपत्र काटेर छाडिदिएपछि पुनः साँठगाँठ सुरु भएको हो ।

घटना विवरण अनुसार भारतीय नम्बरको डब्लुबी ७३ डि २२०८ नम्बरको पिकअप भेनमा प्लाइउड, फर्निचर र सीसा लगायतको सरसामान लोड गरी भारतको गलगलिया नाकाहुदै पिकअपलाई छोटी भन्सार भित्र राखियो । सामानधनी, कारोबारी र कर्मचारीको साठँगाठँमा घरायसी सामान भन्दै १२ हजार ३ सय ५६ राजश्व तिरेर छोडिएको रेर्कडमा उल्लेख गरिएको छ । करिब ५० हजार राजश्व लाग्ने सामानलाई भन्सार कर्मचारीले बिना चेकजाँच न्युनतम रकम तोकेर हचुवाको भरमा सामान छाडिदिएपछि भन्सार बाहिर खैलाबैला मचिएको थियो । भन्सार काटेको प्रज्ञापनपत्रमा चार थान तयारी पलङ भन्दै राजस्व लिएको छ भने सीसाको कुनैपनि राजस्व लिएको देखिदैन । सीसाको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट गरी २३ प्रतिशत र फर्निचरको ३० प्रतिशत भन्सार र १३ प्रतिशत गरी ४३ प्रतिशत भन्सार लाग्ने भन्सार मुल्याकंन पुस्तिकामा प्रस्ट लेखिएको छ । तर, भन्सार कर्मचारीले १२ हजार लिएर छोडिदिएकाले आर्थिक चलखेल भएको घटनाले पुष्टि गरेको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कँडेलका अनुसार एक पिकअप भेनमा ल्याएको उक्त सामानको राजश्व १२ हजार भन्दा बढी हुनुपर्ने दावी गरेका छन् । यस बारेमा छोटी भन्सारका अधिकृतसंग बुझ्ने बताउँदै उनले भने, ‘आयात गरिएको सीसामा २३ प्रतिशत र फर्निचरमा ४३ प्रतिशत भन्सार लाग्छ ।’ ‘भेनमा कस्तो सामान कति परिणाममा आएको हो, यसको बारेमा पनि सोधपुछ गरिने, अधिकृत कँडेलले भने । भन्सार गेट अगाडी सशस्त्र प्रहरी, भन्सार कर्मचारी र नेपाल प्रहरी खटिएका हुन्छन् । पोके व्यापारीले साइकलमा भित्राइएका सामान बिना चेकजाँच कर्मचारीले छाडिदिने गरेको स्थानीयबासी बताउँछन् । पोके व्यापारीबाट एक सय देखि तीन हजार सम्म रकम असुल्दै सामान छाड्ने गरेको स्थानीयको दावी छ । यता दुई महिना भन्सारका कर्मचारीले कडाई गरेसँगै व्यापारीहरु चोरी निकासीको बाटो प्रयोग गर्न बाध्य बनेका थिए । व्यापारीले भद्रपुरको गणेश मन्दिर,केचना,इलामको पशुपतीनगर,मोरङ्को रङ्गेली लगायतको नाका प्रयोग गरेर सामान तस्करी भइरहेको छ । कर्मचारी फेरबदल भएपछि उनीहरु पुनः भन्सार आउन लागेको एक कारोबारीले बताए ।