शनिश्चरे ।गोरधनदास कमलावती परोपकार प्रतिष्ठानको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा आज मोरङको पथरीशनिश्चरे ६ को ऋषिदेव वस्ती र वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा जाडोको राहतका लागि कम्बल वितरण गरेको छ ।

जिल्ला प्रहरी प्रमुख अरुण विसीको पहल र इलाका प्रहरी कार्यालय पथरीको समेत सहकार्यमा विहीवार पथरीशनिश्चरे ६ को गेलावारी सहितका विपन्न ऋषिदेव परिवारमा ४७ वटा कम्बल वितरण भएको छ । त्यहाँ सामुहिक रुपमा आगो बालेर ताप्नका लागि १ ट्याक्टर दाउरा समेत वितरण गरिएको छ ।

यसैगरी, वडा नम्बर १० मा रहेकामध्ये ५६ परिवार भूटानी शरणार्थीलाई समेत एक एक वटा कम्बल वितरण गरिएको पथरी प्रहरी प्रमुख विजय श्रेष्ठले जनाए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा डीएसपी विष्णुहरि कोइराला, पथरी प्रहरी प्रमुख श्रेष्ठका साथै स्थानीय जनप्रतिनिधिहरुले सामग्री वितरण गरेका हुन् । अन्य केही ठाउँमा थप कम्बल वितरण गरिने प्रहरीको योजना रहेको छ ।