शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरलाई मेलमिलापमैत्री नगर वनाउने अभियान स्वरुप प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा गठित न्यायिक समितिको सक्रियतामा नगरका १० वटै वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ । प्रत्येक वडामा संयोजक र २ जना सदस्य चयन गरी मेलमिलाप समिति तय गरिएको र उनीहरुलाई ५ दिने तालिम समेत प्रदान गरिएको छ ।
मेलमिलाप समितिले आआफ्ना वडा कार्यालयमार्फत वडाका मुद्धा मामिलालाई हेरेर सामाजिक सद्भावलाई जोड दिन मेलमिलाप गराउने मुख्य उद्धेश्य रहेको न्यायिक समिति सदस्य भद्रमान विश्वकर्माले जनाए । स्थानीय साशन ऐन ०७४ को परिच्छेद ८, दफा ४९ उपदफा ४७ वमोजिम मेलमिलाप केन्द्र गठन भएको हो ।
ससाना मनमुटाव तथा झैगडालाई मेलमिलाप केन्द्रले दुवैपक्षलाई राखेर समस्या समाधान गराइ मेलमिलाप गराउने र त्यहाँ मिल्न नसकेका विषयहरु न्यायिक समितिले हेर्ने प्रावधान वनाइएको नगरउपप्रमुख विष्टले उल्लेख गरिन् । उनले भनिन् ‘न्यायिक समितिले वर्षाैंदेखिका झैझगडा र मुद्धाहरु मिलाएर नगरलाई मेलमिलापमैत्री बनाउँदै लगिएको छ ।’
गत साउनदेखि खडा भएको न्यायिक समितिमा हालसम्म १ सय २३ वटा मुद्धा दर्ता भएको र त्यसमध्ये ९० वटाको सुनुवाई भइसकेको समितिका अर्का सदस्य दुर्गाप्रसाद सिटौलाले बताए । अन्य मुद्धाहरुलाई तारेख प्रदान गरिएको उनले जनाए ।
न्यायिक समितिले वडा वडामा नगरपालिका कार्यालयले गरेका विकास निर्माण तथा सेवाका सम्बन्धमा गुनासो सुनुवाई कार्यक्रम समेत अघि बढाएर आफ्नो कामकारवाहीलाई प्रभावकारी र पारदर्शी बनाउने अभियान थालेको छ । जस अन्तर्गत हालसम्म वडा नम्बर २, ३, ४, ८ र ९ नम्वर वडाको गुनासो सुनुवाई कार्यक्रम एकचरणमा सम्पन्न भएको छ । अन्य वडाको अव क्रमश अघि बढ्ने उल्लेख छ । कम्तिमा ३, ३ महिनाको अन्तरालमा गुनासो सुनुवाई राखिने गरेको छ । ३ सदस्यीय समितिमा विष्ट, विश्वकर्मा र सिटौला सम्मिलित छन् ।