धरान/एक नम्बर प्रदेशको राजधानी माग्दै शान्तिपूर्ण रिले अनसनमा रहेको धरानबासी बिहीबार फरक आन्दोलन गर्दै राजधानीको माग चर्काएको छ ।
[caption id="attachment_69667" align="alignnone" width="1280"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख तथा अस्थायी मुकाम विराटनगरलाई तोकलगत्तै ‘प्रदेशको राजधानी धरान बनाउ अभियान स्वतन्त्र समिति’ ले टायर बाल्दै आन्दोलन चर्काएको हो । पौष ७ गतेदेखि अस्थायी मुकाम धरान बनाउनु पर्ने माग गर्दै रिले अनसनमा रहेको समिति बिहीबारबाट फरक रुपमा प्रस्तुत भएको हो ।
समितिले भानुचौक अघिल्तिर टायर बाल्दै राजधानी धरान बनाउन माग गरे । सबै कोणबाट धरान राजधानीका लागि उपयुक्त रहेको भन्दै धरानलाई राजधानी तोक्न मागसमेत गरे । यस अघिसम्म शान्तिपूर्ण रुपमा धरानले राजधानी माग्दै आन्दोलित थियो ।
राजधानी माग्दै धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा एक टोली काठमाडौंसमेत पुगेको थियो । त्यस क्रममा प्रम देउवा, सुनसरीका तीन मन्त्री मीनबहादुर बिक, विजयकुमार गच्छदार र ज्ञानेन्द्र कार्कीलाईसमेत ज्ञापन पत्र बुझाएका थिए । उक्त समितिले बिहीबारबाट शान्तिपूर्ण आन्दोलन टुंगिएको घोषणासमेत गरेको छ ।
समितिका संयोजक आइन्द्रबिक्रम बेघाले यो सरकारले अस्थायी मुकाम जुन ठाउँलाई तोकेको छ त्यसले प्रदेश १ का जनतालाई न्याय नगरेको बताए । उनले जातीय, भाषिक, धार्मिक, साँस्कृतिक हिसावले पनि असन्तुलित रहेको बताउँदै सुरक्षाको दृष्टिकोणले पनि अनपयुक्त नहरेको टिप्पणी गरे ।
समितिले मन्त्रीपरिषद्ले गरेको निर्णयलाई जलाउँदै आन्दोलनलाई फरक मार्ग तर्फ डोर्याएको छ । उनीहरुले अव राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने, धरान किन प्रदेश १ को राजधानीको लागि उपयुक्त छ त्यो विषयमा एक मिनेटको भिडियो निर्माण गर्दै सबै सांसद तथा शीर्ष नेतृत्वहरुमा पठाउँदै दवाव दिने निर्णय गरेको छ । राजधानीका लागि निरन्तर दवाव दिँदै कडा आन्दोलनको कार्यक्रमसमेत तय गर्ने बताएको छ ।
यता धनकुटामा राजधानीको माग्दै शुरु भएको आन्दोलनले ‘हिंसात्मक रुप’ लिएको छ ।