काठमाडौं । प्रदेश सांसदको शपथ ग्रहण आइतबार हुँदैछ । सातवटै अस्थायी राजधानीमा प्रदेश प्रमुख पुगेसँगै शपथ ग्रहणको तयारी भएको हो । प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा शपथ ग्रहण कार्यक्रमको तयारी पूरा भइसकेको छ । वीरेन्द्र सभागृहमा बिहान १० बजेदेखि कार्यक्रम सुरु हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराउनुभयो ।
प्रदेशसभाका प्रमुख डा. गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका ज्येष्ठ सदस्य ओम सरावगीलाई शपथ ग्रहण गराउनुहुनेछ । त्यसपछि, ज्येष्ठ सदस्यले अरु प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुने प्रजिअ आचार्यले जानकारी गराउनुभयो । प्रदेश नं १ का १४ जिल्लाका ५६ जना प्रत्यक्ष र समानुपातिकका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण समारोह १० बजे जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा हुनेछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम पुगिसक्नुभएको छ । प्रदेश नं २ मा १ सय ७ जना प्रदेशसभा सदस्य छन् । शपथ ग्रहणको सवै तयारी पुरा भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले जानकारी दिनुभयो ।
यस्तै प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ । बिहान १० बजे ज्येष्ठ सदस्य पौडेलले शपथ लिने र त्यसपछि उहाँले १ सय १० प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी गराउनुभयो ।
प्रदेश नंं ४ को अस्थायी राजधानी पोखरामा पनि शपथ ग्रहणको तयारी हुँदैछ । नदीपुरमामा रहेको पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा शपथ ग्रहण समारोह हुनेछ । प्रदेश प्रमुख बाबुराम कुँवर शनिबार नै पोखरा पुगिसक्नुभएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीका अनुसार प्रदेश प्रमुख कुँवरले प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुहुनेछ । त्यसपछि अरु सदस्यलाई उहाँले शपथ गराउनुहुनेछ । प्रदेश नं. ४ मा प्रत्यक्षतर्फ ३६ र समानुतिपातिकतर्फ २४ गरी ६० जना सांसद छन् ।
यस्तै प्रदेश नम्बर ५ का प्रदेशसभाका सांसदहरुलाई बिहान ११ बजे उद्योग वाणिज्य संघको सभाहलमा बुटवलमा शपथ गराइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । प्रदेश प्रमुख उमाकान्त झाले बिहान १० बजे पदबहाली गरेर ११ बजे सांसदको सपथ गराउने तयारी छ । ५ नं प्रदेशमा प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसद छन् ।
यसैगरी प्रदेश ६ का प्रदेशसभा सदस्यलाई जिल्ला समन्वय समितिको हल सुर्खेतमा बिहान ११ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले शपथ गराउनुहुनेछ । ५ नम्बर प्रदेशमा ४० जना प्रदेशसभाका सदस्य छन् ।
७ नं प्रदेशको अस्थायी मुकाम तोकिएको धनगढीमा प्रदेश सांसदको शपथ ग्रहणको तयारी पूरा भएको छ । शपथ ग्रहण समारोहका लागि तोकिएको धनगढीको जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा आवश्यक तयारी गरिएको छ । प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना प्रदेशसभाका सांसद छन् ।