नसर्ने रोगमध्येको निकै खतरनाक रोग हो, क्यान्सर । विश्वमा यस्ता रोगीको संख्या निकै ठूलो छ । त्यसैमध्येको एक हो, मुखको क्यान्सर । यो रोग पनि रहनसहन र जीवनशैलीकै कारण लाग्ने गर्छ । कतिपय व्यक्तिमा वंशाणुगत गुणका कारण पनि यस्तो रोग लाग्ने गरेको पाइन्छ । यी हुन् क्यान्सर हुने कारण :
कारण मुखको क्यान्सर हुने प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो । मद्यपान, सुपारी खाने र राम्रोसँग मुखको सफाइ नगर्दा पनि यस्तो क्यान्सर हुने गर्छ ।
सन्तुलित भोजन, हरियो सागपातको प्रयोग नगर्दा पनि मुखको क्यान्सर हुने सम्भावना हुन्छ । रासायनिक पदार्थको प्रयोगले पनि मुखको क्यान्सर हुन्छ । पछिल्लो समयमा अस्पतालमा आउने मुख क्यान्सरका रोगीमध्ये ८० प्रतिशतमा मद्यपान र सुर्तीजन्य पदार्थको सेवनका कारण भएको पाइन्छ । सुर्ती सेवन र मद्यपान गर्नेलाई मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढेर जान्छ ।
कसरी बच्ने ? मुखमा सामान्य परिवर्तन आएमा वा घाउ–खटिरा, दाग देखिएमा हेलचेक्र्याइँ गर्नु हुँदैन । किनकि, यो क्यान्सरको लक्षण पनि हुन सक्छ । यस्तो समस्या आएमा तत्काल चिकित्सककहाँ जानुपर्ने हुन्छ । मुखमा देखिएका खटिरा नै क्यान्सरको रूपमा परिवर्तन हुन सक्छ । कहिलेकाहीँ मुखमा नदुख्ने खालका घाउहरू पनि आउँछन् । यस्तो समस्यालाई पनि सामान्य रूपमा लिनुहुँदैन ।
नयाँपत्रिकाबाट