पानवारी/ नेपाली युवा पुस्तामाझ एकदमै लोकप्रिय गायक विपुल क्षेत्रीले शनिबार धरानको पब्लिक स्कुलमा आफ्नो प्रस्तुती दिएका छन् । कार्यक्रम दिउसो ३ बजेदेखि सुरु हुने भनिएता पनि विपुल क्षेत्री करिब ८ बजे मात्र स्टेज चढेका थिए । कार्यक्रम प्रस्तोता सुदिप यल्मोले जब विपुल क्षेत्रीको नाम लिए, उनको प्रस्तुती हेर्न पुगेका हजारौ दर्शकले एकै स्वरमा ‘विपुल–विपुल’ को नारा नै लगाएका थिए ।क्षेत्रीले पछिल्लो
समय चर्चित ‘सिन्डीकेट’‘डँढेलो’, ‘मन’, ‘राम साईंली’ लगायतका थुप्रै गीत प्रस्तुत दिएका थिए । विपुल क्षेत्रीले गाउदा उनको प्रस्तुती हेर्न पुगेका दर्शकहरु उनीसँगसँग गाउदै उफ्रिएका थिए । जतिजति रात बढ्यो उति चिसो बढेको मौसममा उनका फ्यानहरु भने उनको प्रस्तुतीसँगै उती नै तातिरहेका थिए । एकपछि अर्काे गीतमा उफ्रिएका दर्शकहरु यस्तो जाडोमा पनि पसिना पसिना भएका थिए । पूर्वाञ्चल रक्सले आयोजनामा भएको कार्यक्रममा विपुल क्षेत्री एण्ड ट्राभलिङ ब्याण्ड कार्यक्रमको मुख्य आकर्षण रहेको थियो ।
युवा पुस्तामाझ लोकप्रिय गायक विपुल क्षेत्रीदार्जिलिङमा रहेर नेपाली संगीत क्षेत्रमा साधनारत छन् । गहिरो गहिरो नेपाल टुर २०१८ को पहिलो कन्सर्ट लिएर नेपाल छिरेका क्षेत्रीले पहिलो प्रस्तुती धरानमा दिएका हुन् ।कार्यक्रममा प्रस्तुती दिने क्रममा गायक क्षेत्रीले धरानमा आफ्नो प्रस्तुती दिन पाउदा खुसी लागेको बताएका थिए । उनले धरान पहिले पहिले पनि आउने गरेको तथा आफ्नो एकदमै मनपर्ने सहरहरुमा धरान पनि भएको उनले बताएका थिए ।
विपुल क्षेत्रीका अलावा कार्यक्रममा सेकेण्ड जेनेरेसन व्याण्ड दमक, तपश्वी ब्याण्ड धरान, द आउट साइडर्स नेपाल लगायतका सांगितीक ब्याण्डले प्रस्तुती दिएका थिए । धरानको तपस्वी ब्याण्डको प्रस्तुतीमा पनि उत्तिकै दर्शकहरुले मज्जा लिएका थिए । कडा सुरक्षा सतर्कता अपनाइएको कार्यक्रममा ५ वटा सिसि क्यामेराले निगरानी राखेका थिए भने सुरक्षागार्ड पनि पर्याप्त मात्रामा खटाइएको थियो । कार्यक्रममा प्रतिक्षामा रहेका दर्शकहरु दिउसैदेखि पब्लिक स्कुलमा पुगेको तथा बेलुका ७ बजेसम्ममा पब्लिक स्कुलको खेलमैदान दर्शकले भरिएको थियो ।