बलिउड सुपरस्टार सलमान खान आउँदो फागुन २६ गते टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ का लागि नेपाल आउँदैछन् । २ हजार देखि १० हजार सम्म टिकट मूल्य तोकिएको यो कन्सर्टका लागि अहिले आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टले धमाधम तयारी सुरु गरिरहेको छ ।

सलमानसँगै ‘दबंग द टुर नेपाल’ मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् ।

नेपाली कलाकारहरुले पनि उक्त कन्सर्टमा आफ्नो प्रस्तुती दिने आयोजक संस्थाको भनाई छ । नायिका त्रय स्वस्तिमा खड्का, प्रियंका कार्की र एलिशा राईलाई कन्सर्टमा आफ्नो नृत्य प्रस्तुत गर्नका लागि आयोजक संस्थाले प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको खबरले यतिबेला देश तातेको छ ।

सलमानको कोरस भएर नृत्य गर्नु पर्ने भएपछि स्वस्तिमा, प्रियंका र एलिशाले आयोजक संस्थाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोत बताउँछ । बिहीवार फिल्म ‘जय भोले’ को घोषणा सभामा नायिका स्वस्तिमा खड्काले यस विषयमा मुख खोलिन् ।

पत्रकारको प्रश्नमा उनले भनिन्, ‘म सलमान खानलाई सम्मान गर्छु । उहाँ बलिउडको सुपरस्टार हुनुहुन्छ । उहाँसँग स्टेज शेयर गर्न पाउनु भनेको मेरो लागि एकदमै ठूलो कुरा हो ।’

उनले अगाडि भनिन्, ‘आयोजक संस्थाले हामीलाई कोरसको रुपमा प्रस्ताव गर्नुभयो । यदी सलमान खान नेपाली गीत अर्थात्, ‘कुटुमा कुटु’ गीतमा नाच्नु हुन्छ भने म कोरसमा नाच्न तयार छु । तर, हिन्दी गीतमा उहाँको साइडमा बसेर नाच्न मलाई मेरो इथिक्सले दिँदैन ।’

‘छक्का पञ्जा २’ मा अभिनय गरेपछि स्वस्तिमा अहिलेकी ‘मस्ट डिमान्डेड’ अभिनेत्रीको लिस्टमा पर्छिन् ।