नेपाली सिनेमा हलहरुमा एक नेपाली र एक बलिउड सिनेमा प्रदर्शनमा आएको छ । जसमा नायक अनमोल केसी अभिनित सिनेमा 'कृ' र बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा 'प्याडम्यान' रिलिज भईरहेको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा 'कृ' यस वर्षको बहुप्रतिक्षित सिनेमा हो । युवापुस्तामाझ लोभ लाग्दो क्रेज बनाएका नायक अनमोल केसीको करिब दुई वर्षको मेहनत पछि 'कृ' तयार भएका हो ।

सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतिमा रहेको ’कृ’मा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको कथा, सम्पादन र निर्देशकिय पाटो सुरेन्द्र पौडेलले सम्हालेका छन् । सिनेमाको ट्रेलर, गीतहरूले निकै चर्चा पाइसकेको छ ।

त्यस्तै बलिउडको प्रतिक्षित सिनेमा 'प्याडम्यान' आज शुक्रवारबाट देखि नै प्रदर्शनमा आएको छ । यस अघि २६ तारिखमा रिलिज हुने भएता पनि अर्को ठुलो सिनेमा पध्मावत रिलिज हुने भएपछि 'प्याडम्यान' पछि सरेको हो । यो सिनेमामा अक्षय कुमार शीर्ष भूमिकामा देखिएका छन् ।

सामाजिक सन्देश बोकेको सिनेमामा अक्षय कुमारको साथै सोनम कपुर, राधिका अप्टे सिनेमामा मुख्य भूमिकामा रहेको छ । आर बल्की सिनेमाका निर्देशक हुन् । अक्षय कुमारले पछिल्ला केही बर्षयता विशेषगरि सामाजिक सन्देश दिने सिनेमामा काम गरिरहेका छन् । उनको सिनेमाले पनि महिलाहरूलाई सचेतना जगाउन खोजेको छ ।