सेलिब्रेटीहरुको सानो-सानो कुराहरुले सबैको ध्यान तान्ने गर्छ । उनीहरुले बोलेका, दैनिकी लगायत उनीहरुको सम्बन्धले पनि उतिक्कै चर्चा पाउने गर्छ । नेपाली फिल्मका हस्तीको नाम उनीहरुको फिल्म करिअरसँगै उनीहरुले जोड्ने गरेका सम्बन्धहरु पनि दर्शकका लागि चासोको बिषय बन्ने गरेको छ ।
जसरी फिल्म क्षेत्रमा लागेका हस्तीहरु आफनो उमेर लुकाउन खोज्छन् त्यसरी नै उनीहरु प्रेम सम्बन्ध पनि लुकाउन खोज्छन् । तर, उनीहरुको प्रेम भने जगजाहिर हुने गर्छ । भोली फेबुअरी १४ अर्थात्, 'भ्यालेनटाइन डे' । यस्तैमा आज हामी कलिउडको एक प्रेम जोडीको चर्चा गर्दैछौं । फिल्म 'ऐश्वर्य' डेब्यू गर्ल दीपिका प्रसाईँ यतिबेला निर्देशक दीवाकर भट्टराईसँगको प्रेममा रहेको खबर बाहिर आएको छ । हुनत, फिल्म 'ऐश्वर्य' रिलिजको समयमा नै यो खबर बाहिर आएको थियो । तर, यतिबेला भने छताछुल्ल भएको छ । 'ऐश्वर्य' का निर्देशक हुन् दीवाकर । उनी अहिले युवा स्टार अनमोल केसीलाई लिएर नयाँ फिल्म 'क्याप्टेन' निर्देशन गर्ने तयारीमा छन् । दीपिका र दीवाकरको प्रेम फिल्म 'ऐश्वर्य' को सुटिङ सेटबाट फस्टाएको खबर छ । केही दिन अगाडि दीवाकरले फिल्म 'क्याप्टेन' मा अनमोलको अपोजिटका लागि दीपिकालाई सिफारिस गरेको खबर बाहिरिएको थियो । तर, निर्माता भुवन केसीले यो खबरलाई मिडियाको सामुन्ने गलत भने । सकेसम्म प्रेम सम्बन्ध लुकाइरहेका दीपिका र दीवाकर केही दिन अगाडि काठमाडौंको रोयल एम्पायर बुटिक होटलमा एक व्यक्तिको जन्मदिन सेलिव्रेट गर्न पुगेका थिए । त्यहाँ यी दुईले खुब मस्ती गरे ।