पानवारी/ समग्र प्रदेश नं. १ समृद्धिको खाका कोरीरहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
भोजपुर सुनसरी सेवा समाजको धरान स्थित सैनिक भवनमा भएको दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले वैशाख, जेठ र असार गरी तीन महिनाको बजेट १ सय २ करोड रहेको भन्दै बजेट ल्याउने तयारी स्वरुप विभिन्न क्षेत्रका विज्ञहरुसँग राय, सुझाव लिने काम गरिरहेको बताएका छन् । उनले तीन महिनाको बजेट ल्याइसकेपछि लगत्तै जेठमा प्रस्तुत हुने २०७५÷७६ को वार्षिक बजेट ठूलो रकम सिमाको हुने र उक्त बजेट समयमा नै तय गरिने बताए ।
मुख्यमन्त्री राईले भने –‘यसपटक सरकारले ल्याउने बजेटले आर्थिक समृद्धिको ढोका खोल्ने कामको सुरुवात गर्ने’ बताए ।
भोजपुर सुनसरी सेवा समाजको दोस्रो अधिवेशन कार्यक्रम उद्घाटन गर्दै १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्पूर्ण भोजपुरेहरुलाई एक सुत्रमा बाध्ने साथै हामी भोजपुरेहरुले समाज गठन गरेर समाज सेवामा लागेको भन्दै भोजपुर सुनसरी सेवा समाजलाई धन्यवाद समेत दिएका थिए ।
मुख्यमन्त्री राईले भने–‘भोजपुरमा जन्म भएका व्यक्तिहरु विभिन्न संघ संस्थादेखि देशभित्र र देशबाहिर सबै ठाउँमा नेतृत्वदायी भूमिकामा रहेर समाज सेवा गर्दै आएकोमा गर्व लागेको छ विशेष गरी म आफु पनि भोजपुरे भएकोमा ।’ उनले भने देशको सर्वाेच्च पद राष्ट्रपतिमा भोजपुरमा जन्म भएकी सम्माननीय विद्या भण्डारीदेखि १ नं. प्रदेशको मुख्यमन्त्री, प्रदेश सभाका सभामुख प्रदीप भण्डारी समेत भोजपुरमै जन्मिएर बाल्यकाल विताएकोमा हामी भोजपुरेले गौरब गर्न पाएका छौ ।
यसअघि कार्यक्रममा बोल्दै एक नं. प्रदेशका सभामुख प्रदीप भण्डारीले आफ्नो पैतृक थलो, हुर्केको, बढेको तथा बाल्यकाल विताएको मातृभूमिको सम्झना गर्ने तथा त्यसबेलाको स्मरणलाई ताजा तुल्याइदिएको भन्दै भोजपुर सुनसरी सेवा समाजलाई धन्यवाद व्यक्त गरेका थिए । साथै समाजले विभिन्न परिस्थितिमा, दैविक प्रकोप परेको अवस्थामा संगठित भएर सेवा गरेको भन्दै उनले यस्ता काम गर्ने सधै धन्यवादका पात्र बन्ने बताए ।
कार्यक्रममा भोजपुर पुख्र्यौली घर भएकाहरु सुनसरीका विभिन्न स्थानमा आएर बसोबास गरी भर्खरै सम्पन्न भएको तिनै तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारी, प्रदेश सांसद सावित्रा श्रेष्ठ लगायत विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।