काठमाडाै । नुवाकोटकी शान्ति र अर्जुन नाम परिवर्तन पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए।
शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले। अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन्। दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन्। विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्यो।
अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए। कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ। खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए।
अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम नाम परिवर्तन डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन्। उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ। तर, अहिले उनीसँग एक पैसा पनि छैन। पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन्।
परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन्। झापा घर भएर काठमाडौं बस्ने रीता नाम परिवर्तन ले श्रीमान् नभएका बेला अर्कै युवासँग शारीरिक सम्पर्क गरेको भिडियो खिचिन्। खाडी मुलुकमा पुगेका श्रीमान् दुई वर्षपछि फर्केर रीताको मोबाइल हेर्दा भिडियो र फोटो देखेपछि उनी मूर्छित बने। पत्नीसँग पारपाचुकेका लागि उनी प्रहरीमा पुगे।
केन्द्रका अनुसार साउनदेखि फागुनसम्म मानव बेचबिखनका चार वटा, बहुविवाहका १७ वटा, घरेलु हिंसाका २० वटा, जबर्जस्ती करणीका ८९ वटा, घरायसी ६ सय वटा र लैंगिक हिंसाका एक सय २० वटा उजुरी दर्ता भएका छन्। घरभित्रै मदिरा सेवन गरेर श्रीमान्- श्रीमतीबीच कुटाकुटका घटना पनि प्रहरीमा आउने गरेका छन्। परिसर प्रमुख एसएसपी पोखरेलले पैसा र सेक्ससँग जोडिएका कहाली लाग्दा घटना प्रहरीमा आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘कति घटना त सोच्दै नसोचेका पनि भेटिन्छन्। कोही पैसाका लागि त कोही सेक्सका लागि सम्बन्ध गाँस्ने र पछि उद्देश्य मेल नखाएपछि बार्गेनिङ गरेका घटना पनि छन्।’