चितवन/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलाप अतिवादी भएको टिप्पणी गर्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन्।
थापाले शनिबार यहाँ संवाददाताहरुसँग संवाद गर्दै विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको आरोप लगाए। उनले भने–“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।” विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गरे।
उनले भने–“यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो । गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उनले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए।
उनले वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने बताए। गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम हुने बताए।
सरलपत्रिकाबाट