कास्की । पोखरा बिरौटा चोकस्थित बिजुलीको पोलमा आगो लाग्यो । स्थानीय आत्तिए । आगो झन् दन्किँदै गयो । स्थानीयले प्रहरीदेखि बिजुली अफिससम्म फोन गरे । केही बेरमा साइरन बजाउँदै आगो निभाउन दमकल आइपुग्यो । दमकल चालकले पाइप निकाले तर पानी नै फालेन ।
दमकल आगो ननिभाइ फर्कियो ।
पोखरा लेखनाथ महानगरपालिकाको दमकल आगो निभाउन रित्तै आएको भन्दै स्थानीयबासी आक्रोशित बने । उनीहरुले कैलाश बोरिङको पानी ट्यांकर ल्याएर आगो निभाए ।
दमकलको यस्तो लापरवाही ? ठूलै आगलागी भएको भए के हुन्थ्यो ? अहिले महानगरपालिकाप्रति पोखरेलीले यस्तै प्रश्न उठाइरहेका छन् ।
यतिबेला पोखरामा यो घटना भाइरल बनेको छ । आगो निभाउन बिग्रिएको दमकल पुगेपछि अतिसंवेदनशील घटनामा पनि चरम लापरबाही भएको भन्दै महानगरपालिकाको कडा आलोचना भइरहेको छ । स्थानीय तथा प्रत्यक्षदर्शीले रित्तो दमकल आगो निभाउन पुगेको भन्दै आलोचना गरिरहेका छन् भने महानगरपालिकाले रित्तो नभइ जाँदाजाँदै बिग्रिएको बताएको छ ।