काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन दिने भारत भ्रमण सकेर स्वेदश फर्किएका अभिनेता राजेश हमालले राजदूत बन्ने आकांक्षा रहेको संकेत गरेका छन् ।
नयाँ दिल्लीको पाँच तारे होटल ताज महलको बसाईको क्रममा मिडियासँगको कुराकानीमा उनले राजदूत बन्न प्रस्ताव आए ‘नाइँ भन्न’ नसक्ने बताएका छन् । उनले भने, ‘पिताजीको लिगेसी आफ्नो ठाउँमा छ । मलाई आजसम्म राजदूत बन्न त्यस्तो कुनै झिनो प्रस्ताव आएको छैन । प्रधानमन्त्री ज्यूले मसँग त्यो कोणबाट कहिल्यै कुरा गर्नु भएको छैन । तर मेरो भित्री इच्छा सोध्नुहुन्छ भने त्यो पाटो अंगाल्नै मन छैन चाहीं भन्दिनँ ।’
उनी थप्छन्, ‘प्रत्यक्ष नभए पनि अप्रत्यक्ष, हिङ नभए पनि हिङ बाँधेको टालो हुँ म । केही कुटनीति स्वभाविक रुपमा बुझेको पनि छु । राष्ट्रको आवश्यकता अनुसार कुटनीतिक भूमिका निर्वाह गर्नसक्छु ।’ ओलीसँग भारत भ्रमणमा निस्कँदै गर्दा यतिबेला हमाललाई भारतको लागि नेपाली राजदूत बनाउन लागिएको चर्चा शुरु भएको छ । उनी पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकै नजिक छन् ।
गएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष देवेन्द्र रिमालमा जिताउनका लागि उनले एमालेको झण्डा नै बोकेर कपुरधाराका गल्ली–गल्ली चहारेका थिए । तर, उनी आफू ’एमाले हुँ’ भन्न चाहीँ सकिरहेका छैनन् । प्रधानमन्त्री ओलीसँग भारत भ्रमणमा रहँदा उनले बलिउड अभिनेत्री अमिशा पटेल, जया पर्दा, अभिनेता गोविन्दाकी श्रीमति सुनितासँग पनि भेट गरेका छन् । उनले उक्त भेटको तश्बिर आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । nayapage बाट