फिल्मको प्रचारलाई आक्रामक बनाउन रोड कन्सर्टदेखि विभिन्न उपहार योजनाका कार्यक्रमहरु हरेक हप्ताजसो भइरहेका हुन्छन् । दर्शकको फिल्मतर्फ ध्यान केन्द्रित गर्न यस्ता प्रचार नअपनाए अब निर्माताले आफ्नो लगानी सुरक्षित गर्न नै मुश्किल हुन थालेको छ ।
एकातिर बलिउड र हलिउड फिल्मको मार अनि अर्कोतिर एकै मितिमा दुईभन्दा बढी नेपाली फिल्म एकसाथ हलमा लाग्ने भएका कारण अचेल फिल्मको प्रचार आक्रामक बनाउनै पर्ने दबाब निर्मातालाई छ ।
प्रचार-प्रसार बलियो भए फिल्मको इनिसियल व्यापार राम्रा भएको उदारहण अचेल प्रशस्तै भेटिन्छन् । बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेत्री केकी अधिकारी अभिनीत तथा निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ ले भने भिन्न शैलीको प्रचार-प्रसार अपनाएको छ ।
केकी र फिल्मकी प्रमुख कलाकार ऋचा शर्मा यतिबेला खाजा बोकेर दर्शकको घर-घर पुगिरहेका छन् । यदी तपाईले 'फुडमान्डु' मा केही खाजा अर्डर गर्नुभएको छ भने सरप्राइज हुन पनि तयार भएर बसे हुन्छ । कुनै पनि बेला केकी र ऋचा झोलामा तपाईले अर्डर गर्नुभएको खाजा बोकेर घरको ढोका ढकढक्याउन आइपुग्ने छन् ।

नायिका तथा निर्मात्री केकी र नायिका ऋचा शर्माले सुरुवातमा राजधानीमा रहेका केही घरहरुमा पिज्जा पुर्याएका छन् । नायिकाले घरमै पिज्जा पुर्याउँदा धेरै 'कस्टुमर' रक्ड भएका थिए । धेरैले गालामा हात राखेर 'ओ माई गड' को 'रियाक्सन' दिएका थिए ।
यी दुई नायिकाले अर्डर बमोजिमको खाजासँगै फिल्म ‘कोहलपुर एक्सप्रेस’ को टिसर्ट उपहार स्वरुप प्रदान गरेका छन् । अभिनेत्री केकीले दर्शकसँग घरमै पुगेर साक्षात्कार गर्दा खुब मज्जा आएको बताइन् । उनी भन्छिन्, ‘हामी जहाँ-जहाँ खाजा लिएर पुग्यौं त्यहाँ हरेकलाई फिल्मको बारेमा धेरै थाहा रहेछ । खुसी लाग्यो ।’
यस फिल्मका निर्देशक विशाल भण्डारी हुन् । यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो ।
प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।
फिल्मका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । ‘अब मनसँग मन’ र ‘सि-ओे-डब्लु काउ’ गीतका कारण पनि यो फिल्म यतिबेला राम्रै चर्चामा छ ।