विजयपुर । वराहक्षेत्र नगरपालिका स्थित चतरा प्राथमिक स्वास्थ्य केन्द्रले वृद्धाश्रममा रहेका झण्डै एकसय जना ज्येष्ठ नागरिकलाई निशुल्कः स्वास्थ्य बिमा गरिदिएको छ । चतरास्थित रामशाान्ति कुञ्ज आश्रम, भूवराह रामानुज आश्रम, १३आरडी वृद्धाश्रममा रहेका महिला ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिन स्वास्थ्य बिमा गरिदिएको चतरा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. अनिल गिरीले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र संचालन समितिले आफ्नो क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिक, असाहय बालबालिका, स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य केन्द्रका कर्मचारी र स्थानीय संचारकर्मीलाई निशुल्क स्वास्थ्य बिमा गरिदिन लागेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईले जानकारी दिए । वराहक्षेत्र नगरपालिका भित्रका झण्डै ५ सय जनालाई स्वास्थ्य केन्द्रको लगानीमा बिमा गरिदिन लागिएको हो । यसबाट स्वास्थ्य केन्द्रमा सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरिएको डा. गिरीले बताए । नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वराहक्षेत्रमा स्वास्थ्य बिमा गर्न सुरु गरिएको छ । २ हजार ५ सय रुपैयाँ तिरेपछि नागरिकले एक वर्षसम्म ओपीडी, एक्सरे, ईसीजी, डे«सिङ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, बाल तथा प्रजनन स्वास्थ्य, आँखा, दाँत सम्बन्धी स्वास्थ्य सेवा, क्यान्सर, मधुमेह, मुटु, दम, मृगौला, पार्किन्सनलगायतका २८ बढी रोगको ५० हजारसम्मको सेवा निशुल्क प्राप्त गर्नेछन् । विमित सदस्यले यो सेवा पाउनका लागि आफू दर्ता भएको स्वास्थ्य संस्थामा जानुपर्ने छ । आकस्मिक भए पायक पर्ने स्वास्थ्य संस्थामा जान सक्ने छन् । पहिलो पटक सेवा लिनुपर्ने स्थास्थ्य संस्थाबाट सेवा प्राप्त नभए विमितले माथिल्लो तहको सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन् । स्वास्थ्य केन्द्रका दर्ता सहयोगी घरघर पुगेर बिमा गराउँदैछन् । अहिले बिमा गरिएका बिमितले जेठदेखि सेवा पाउनेछन् ।