काठमाडौं/ मानसिक समस्याका कारण २८ वर्षदेखि केन्द्रीय कारागारमा रहेकी ९० वर्षिया वृद्धालाई आज बाहिर निकालिएको छ।
‘झ्याप्ले आमा’ भनेर चिनिने ती वृद्धालाई बाहिर निकाल्न प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक इन्दिरा राना मगर र डा रितेश थापाले भूमिका खेलेका हुन्।
ती वृद्धालाई जेलमा राख्नुपर्ने कुनै पनि आपराधिक कारण थिएन। मानसिक समस्या भएको, नामथर नखुलेको र आफन्त पनि फेला नपारेपछि २८ वर्षअघि उनलाई सडकमा असुरक्षा हुने भन्दै सुरक्षा, बासस्थान, खानपानका लागि भन्दै कारागारमा राखिएको थियो। कारागारमा रहेको समयमा उनको उद्धारका लागि धेरै पटक प्रयास भए पनि उनी आफैं बाहिर निस्किन मानेकी थिइनन्।
तर, आज उनी आफैं बाहिर निस्किन राजी भएको प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक राना मगरले बताइन्।
‘पहिला-पहिला आमा बाहिर जाऔं भन्दा मान्दै मान्नुहुन्नथ्यो’, उनले भनिन्, ‘तर आज डा रितेशले आमा म उपचार गरिदिन्छु, जाऔं भन्दा सहजै बाहिर आउन तयार हुनुभयो।’
जेलबाट निकालिएकी वृद्धालाई डा थापाले एकान्तकुनस्थित रिदम न्यूरो साइक्याट्री हस्पिटल एन्ड रिसर्च सेन्टरमा निःशुल्क उपचार गरिदिने भएका छन्। उक्त अस्पतालका कार्यकारी निर्देशक रहेका डा थापाले उनको उपचार आजैबाट सुरु भएको डा थापाले जानकारी दिए।
प्रिजनर्स एसिस्टेन्स नेपालकी राना मगरले ती वृद्धालाई खानपिन, कपडा लगायत अन्य सहयोग निरन्तर गर्ने जनाएकी छिन्। उनले ती वृद्धालाई जेलमा रहेका समयमा पनि आवश्यक सहयोग गर्दै आएकी थिइन्।
स्वाथ्यखबरबाट