चितवन/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उनले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए । उनले भने, ‘वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।’ यकिन मिति दुई अध्यक्षले टुंगो लगाउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उनले बताए ।
दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उनले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताए ।
उनले भने, ‘कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन् । त्यस्ता विषय छलफल गरेर टुंग्याउने भनिएको छ ।’
गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी र के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उनले बताए ।
उनले सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको उनले दावी गर्दै भने, ‘शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन । तपाईहरु भ्रममा नपर्नुहोस् । दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने । त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन ।’
रासस