काठमाडौं– राजनीतिमा व्यस्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संगीत सुन्ने फुर्सद होला? धेरैलाई यो प्रश्न स्वाभाविक लाग्न सक्छ। तर उनले खुलासा गरेका छन्, 'बिहान ३० मिनेट म संगीतमा रमाउँछु।' संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिहान शारीरिक व्यायाम र संगीत श्रवण नियमित जस्तै बनेको बताए।

'बिहानको ३० मिनेट नेपाली नयाँ तथा पुराना गीत सुन्ने गर्छु,' उनले भने, 'त्यसपछिको ३० मिनेट शारीरिक कसरतमा बिताउँछु।' संगीतले मानसिक थकान मेट्ने र व्यायामबाट पसिना निकालेपछि स्फूर्ति मिल्ने कारण आफ्नो दैनिकी संगीत-व्यायामबाटै सुरु हुने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै उनले संगीतकारहरुको हकहित र रोयल्टीको मागलाई आफ्नो तर्फबाट सकेसम्म साथ दिने वचन पनि दिएका छन्। कार्यक्रममा गायक प्रेमध्वज प्रधानलाई संगीतकार संघ नेपालले अजरअमर सम्मान पनि गरेको थियो।