काठमाडौं/ पूर्वस्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठसहित ५० जनालाई भ्रष्टाचार र अकूत सम्पत्तिको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ । सफाइ पाउनेमा पूर्वएआईजी, महानिर्देशक र विश्वविद्यालयका उपकूलपतिसमेत रहेका छन् । पूर्वस्वास्थ्यमन्त्री पोखरेललाई त्रिभुवन विश्वविद्यालयले एमबीबीएस भर्नाका लागि लिएको प्रवेश परीक्षामा भएको अनियमिततामा संलग्न भएको आरोप लागेको थियो । यस्तै बूढीगण्डकी आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्यांकन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट विनाआधार तत्कालिन शर्मा नेतृत्वको उर्जा मन्त्रालय र विद्युत प्राधिकरण समितिले तीन वटालाई अयोग्य घोषित गरेको भन्दै अख्तियारमा मुद्दा परेको थियो ।