चितवन । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।
स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । ध्रुबे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो ।
अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । ध्रुवे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो ।
विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो ।
सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि उनी घाइते भएकीछन् । घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
जंगली जनावरले आक्रमण गरेको र क्षतिपूर्ति नपाएको भन्दै दराई उत्थान समाजको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अर्यालले भने घाइते अधिकारीलाई शनिबार नै क्षतिपूर्तिबापत ५० हजार दिइएको बताए । समाजले हात्तीका कारण पूर्णरुपमा क्षति भएका घर र अन्नबालीको तत्काल उचित क्षतिपूर्ति दिलाउनुपर्ने माग गरेका छन् ।
प्रहरी उपरीक्षक दीपक थापाले सोमबार छलफल हुने गरी हाललाई सडक नियमित गरिएको बताए ।