मधुमल्ला । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले समृद्ध प्रदेश बनाउने कार्यमा प्रदेश सरकार जुटेको बताएका छन् । मंगलबार उर्लाबारी–३ मंगलबारेस्थित कन्काई विकास बैंकको १३ औं शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेश १ मा उद्योगधन्दा सञ्चालन, रोजगारीको सिर्जना, लगानीको वातावरण निर्माणमा जोड दिइएको वताउँदै मन्त्री आङ्बोले प्रदेश सरकारले कृषि र पर्यटनलाई विशेष जोड दिइएको वताए ।

युवाहरुलाई स्वरोजगार बनाउन ‘आत्मनिर्भर युवा कार्यक्रम’ सञ्चालनमा ल्याइएको मन्त्री आङ्बोले जानकारी दिए । ै प्रदेशका सबै जिल्लामा ‘गरिबसँग खाद्यान्न कार्यक्रम’ ल्याइएको जानकारी दिँदै मन्त्री आङ्बोले यो कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा विस्तार हुने बताएका छन् । उनले प्रदेश बलियो भएमा मात्र केन्द्र बलियो हुने भन्दै केन्द्रले छिटो भन्दा भन्दा प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिए । प्रदेशको जलस्रोत, पर्यटन, कृषि, उद्योगधन्दालगायत प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गरी नमूना प्रदेशको रुपमा विकास गर्न प्रदेश सरकार लागि रहेको उनको भनाई छ ।

मन्त्री आङ्वोले खाद्यन्नको परनिर्भरता अन्त्य गर्न कृषिमा यान्त्रीकरण, अनुदान र कृषकलाई प्रोत्साहनको प्रदेश सरकारले ब्यवस्था गर्ने मन्त्री आङ्बोले बताएका छन् । उनले सरकारले जनजीविका र सुशासनलाई प्राथमिकता दिने दाबी गरेका छन् । आर्थिक रुपमा समृद्ध प्रदेश नं. १ बनाउने योजनामा प्रदेश सरकार लागिरहेको बताउँदै जनताको हित विपरीत कार्य गर्ने जोकोही जनप्रतिनिधिले उन्मुक्ति नपाउने उनले बताए । ‘गुन्डागर्दी र आर्थिक हिनामिना गर्छु भनेर कसैले सोचेको छ भने त्यो सपना मात्र हुन्छ’ उनले भने–‘प्रदेश सरकारले जनताको हित विपरीत कार्य गर्नेलाई छोड्दैन ।’