शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि थालिएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विहीवार नगरका विभिन्न वडाको गतिविधिका बारेमा नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा अवलोकन भएको छ ।
नगर प्रमुख राईले हसन्दह सहितका क्षेत्रमा स्वास्थ्य जाँचको टोलीसँगै गएर ज्येष्ठहरुको प्रतिक्रिया लिएका छन् । घरघरमा आएको यसखाले कार्यक्रमले ज्येष्ठहरुमा खुसी र उत्साह छाएको प्रतिक्रिया पाइएको उनले वताए ।
वैशाख १ मा उद्घाटन् भई वैशाख १० गतेबाट घर घरमा गएर ज्येष्ठका लागि थालिएको स्वास्थ्य जाँच कार्यक्रम अन्तर्गत विहीवार वडा नम्वर १ मा १४ जना, ३ मा १३ जना, ४ मा ३८ जना र ५ मा ८ जनाको जाँच भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पथरी, शनिश्चरे र हसन्दह स्वास्थ्य चौकीका प्राविधिकहरुले आआफ्नो क्षेत्रमा घर घरमा गएर स्वास्थ्य परीक्षण, स्वास्थ्य सल्लाहका साथै स्वास्थ्य चौकीमा उपलब्ध औषधि समेत प्रदान गर्नेछन् । प्रत्येक महिना नगरका ८० वर्षमाथिका सवै ज्येष्ठको घरघरमै गएर स्वास्थ्य परीक्षण गरिने छ । उता, ७० वर्ष माथिका ज्येष्ठहरु विरामी पर्दा १ नम्वर प्रदेशका अस्पतालमा उपचार गर्न जाँदा एकजनाका लागि वर्षमा एक पटक एम्वुलेन्स भाडा समेत नगरपालिकाले व्यवस्था गर्ने कार्यक्रम समेत रहेको छ । घरघरमा उपचार र एम्वुलेन्सको प्रवन्धका यी २ नौला कार्यक्रमले नगरमा उत्साह वढाएको उल्लेख छ ।
नगरमा ८० वर्ष उमेर पुगेका ९ सय २७ जना ज्येष्ठ रहेका छन् ।
यही वैशाख १४ गते नगरभित्र क्षयरोगको प्रभावित क्षेत्रहरुमा निशुल्क माइक्रोस्कोपिक शिविर हुने भएको छ । पथरी स्वास्थ्य चौकी, शनिश्चरे स्वास्थ्य चौकी र किरातचोकको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ ।