मधुमल्ला । मोरङ–१ का प्रदेश सांसद् कुशल लिम्बूले बिहीबार प्रदेशसभा संसद्मा बोल्दै ‘च्यानलाइज’ का नाममा उर्लाबारी–१ का मिक्लुक र सोल्टी खोलाबाट उत्खनन् गरी बालुवा बिक्री गरिएको बताएका छन् । उनले खोला ‘च्यानलाइज’ गर्ने नाममा नियमविपरीत उत्खनन् गरेर बालुवा र मिसगिट्टी बिक्री गरेको पाइएको भन्दै छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले संसद्मा क्रसर उद्योगबारे पनि बोले । नियमविपरीत उद्योग खोलिएको कुरा जानकारीमा आएको जनाउँदै उनले छानबिन गरी तुरुन्त कारवाहीको प्रक्रिया अघि बढाउन प्रदेश सरकारसँग माग गरे । उनले साझेदारी वनलाई खारेज गरेर सामुदायिक वनको राम्रो नीति नियम बनाउनुपर्ने धारणा राखे ।