शनिश्चरे । पूर्वको विकासको गतिमा सक्रिय मोरङको पथरीशनिश्चरेस्थित पथरी वजारको सडक क्षेत्रलाई व्यवस्थित गर्ने अभियान थालिएको छ ।
पूर्वपश्चिम मुख्य सडकको वजार क्षेत्रमा पर्ने सडक किनारामा सरसामान राख्ने, पसल, टहरा निर्माण गर्ने गर्नाले वजारको सुन्दरता विग्रिनुका साथै यातायातका साधनको दुर्घटना समेत बढेको अवस्था विद्यमान छ । सो अवस्थालाई मध्यनजर गरी पथरी शनिश्चरे नगरपालिकाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालयका साथै स्थानीयवासीहरुको सहकार्यमा मुख्य सडक क्षेत्रमा निर्माण भएका पसल, टहरा, ग्यारेज, पार्किङस्थल, निर्माण सामग्री सहित विभिन्न सामग्री हटाउने काम मंगलवारबाट थालिएको हो ।
सो अभियानमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितले सडकको दुवैतर्फ ८२÷८२ फिट सडक क्षेत्र नापजाँच गरेर सो भाग खाली गर्ने काम भएको हो । जसमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहितका संघका पदाधिकारी एवम् व्यवसायीहरुको सहभागिता रहेको छ ।
स्काभेटरको समेत सहयोगमा पथरी खोलाबाट थालिएको अभियान पूर्वपश्चिम मुख्य सडकको उत्तरी क्षेत्रमा मंगलवार सम्पन्न भएको छ । वुधवार दक्षिणी क्षेत्रको सडक खाली गरिने उपप्रमुख वास्तोलाले जनाइन् । उनले सो क्षेत्रलाई सम्याउँदै सडकको सीमाक्षेत्रमा ड्ेन निर्माणको योजना अघि सारिने उल्लेख गर्दै नगरको मुख्यचोकको सुन्दरता कायम गर्न सवैको सधैंको सक्रिय सहकार्यका लागि आव्हान गरेकी छन् ।
मुख्य सडक क्षेत्र खाली गरेपछि नगरका अन्य सडक क्षेत्र समेत उसैगरी खाली गरेर सुन्दर वस्तीको पहिचान झल्काउने नगरपालिकाको योजना रहेको उनले सुनाइन् । यस अघि पटक पटक सूचना दिँदापनि सडक क्षेत्र खाली नभएपछि सवैको सहकार्य र सहभागितामा सडक क्षेत्र खाली गरिएको हो । केही घरको बरण्डा र भित्तो समेत ८२ फिट क्षेत्रमा पर्न गएको देखिन्छ ।