पानवारी । बुधबार विहानै आएको हावाहुरीले विद्युतका दर्जनौ पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ । धरान क्षेत्रमा मात्रै २० भन्दा बढी स्थानमा विद्युतका पोल ढल्नुका साथै रुख भाचिएर तारमा क्षति पुर्याएको छ । नेपाल विद्युत प्राधिकरण धरान वितरण शाखाका अनुसार क्षतिको विवरण आउने क्रम जारी छ । विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको सूचना संकलन भइरहेको छ भने त्यसतर्फ मर्मत टोली समेत परिचालन गरिएको छ । प्राधिकरणका अनुसार धरान फुस्रे क्याम भित्र रुख लडेर तारमाथि अड्कीएको छ । त्यस्तै चादनी चोकमा पोल लडेको, भानुचोक मुनि रुखमा तार बटारिएको, धारन–१५ स्थित इमान्नुएल चर्च अगाडी सुपारीको बोट लडेर तारमा अल्झिएको, धरान–१ स्थित मन्टेश्वरी अगाडी दुईवटा रुख लडेर तार थिचेको, शिवजी चोकमा सुपारीको बोटले तार बेरेको, मंगलबारे चोकबाट विष्णुचोक जाने बाटोमा हाइटेन्सनको पोल लडेको, रेलवे चोकमा ११ हजार भोल्टको तारमा पिपलको हागा भाचिएर अड्कीएको, किरात चोकमा पोल ढलेको, जुनियर पायोनियर स्कुल छेउमा नरिवलको रुख लडेर तार थिचेको, भोटेपुलको हिमाली मार्गमा सुपारीको बोटले तार थिचेको लगायत धेरै स्थानमा विद्युत प्रसारणमा अवरुद्ध भएको छ । त्यस्तै धरान–१४ स्थित विजयपुर क्षेत्रमा धेरै ठाउमा रुख लडेर तार बेरेको छ धरान स्थित विद्युत प्राधिकरण कार्यालयले जानकारी दिएको छ । प्राधिकरणको एउटा मर्मत टोलीले बजारका प्रसारण लाइन मर्मत गर्न निस्किसकेको र अर्काे टोली चारकोशे झाडीमा रहेको प्रसारण लाईन चेक गर्दै दुहबीसम्म पुग्न हिडिसकेको जानकारी ब्लाष्टलाई प्राप्त भएको छ । चारकोशे जंगलमा चेक गर्न मर्मत टोली हिडिसकेको प्राधिकरणले जानकारी दिएको छ ।