काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ ।
भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । ‘बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ’, उहाँले भन्नुभयो, ‘अहिले बुबाको स्वास्थ्य राम्रो छ ।’ छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।
धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा उहाँले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छोरी अधिकारीले बताउनुभयो ।
यसैबीच भारतस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । नेपाली राजदूतावासले घिमिरेको स्वास्थ्यवस्थाबारे अस्पतालमा सम्पर्क गरी जानकारी लिने काम पनि गरिएको जनाएको छ ।
घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तश्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लगिएको हो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर र ग्राण्डी अस्पतालका चिकित्सक डा रोहित चौधरी रहनुभएको छ । झण्डै चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने बताएको छ । -रासस