चतरा । वराहक्षेत्रको चतराधामस्थित रामशान्ति कुञ्ज अनाथ महिला केन्द्रमा पुरुषोत्तम मासको पावन अवसरमा नवाह महापुराण सुरु भएको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले शुक्रबार उद्घाटन गरेपछि महापुराण सुरु भएको हो । आगामी जेठ १५ गतेसम्म हुने महापुराण उमुद्घाटनकै अवसरमा नगर प्रमुख खनालले शिष महल र चारकोठे अतिथि सदनको समेत शिलान्यास गरेको केन्द्र संचालक मिथिला पाण्डेले जानकारी दिइन् । महायज्ञमा प्रत्येक दिन नित्यानुसन्धान, दिव्य प्रबन्ध, नित्यपूजन, पाठपरायण, कथा प्रवचन, आरती, पूष्पाञ्जली अर्चना, पूर्णाहुति तथा प्रसाद वितरण हुनेछ । महायज्ञमा विशेष संगीतज्ञ टोलीबाट भक्ति संगीत तथा राष्ट्रिय कलाकारबाट भागवत चरित्रमा आधारित झाँकीहरु प्रस्तुत गर्नेछन् । महायज्ञमा प्रमुख वक्ता विद्वान आचार्य श्री रामानुज नेपालको मुखारविन्दबाट निःसृत भावगर्भित कथा–प्रवचन तथा युवा पंडित दीपक दाहालका मुखारविन्दबाट पाठपरायण गरी आत्मकल्याणको मार्गमा अग्रसर हुने समेत आयोजक समितिले बताएको छ ।