अबको नेतृत्वले उनले देखेको सपना पूरा गर्नसके मात्र उनको आत्माले शान्ति पाउने छ । युवा अवस्थामा पूरै राजनीतिमा होमिए । कहीँकतै आर्थिक प्रलोभनमा नपरी सेवा गरेको प्रमाणहरू जीवितै छन् । जीवनभरि धरानको उत्थानमा लागेका सुब्बाको सपना अबका पुस्ताले पूरा गर्नुपर्दछ । नेकपाले पनि उनका महत्वाकाङ्क्षी योजनाहरू पूरा गर्न दबाव दिनुपर्दछ ।
मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रहेछ !! जनताको छोरो मर्दा देशै रुँदो रहेछ !!
प्रिय नेताको अवसानमा यतिबेला देश रोइरहेको छ । सामाजिक सञ्जालका भित्ताभरि उनलाई श्रद्धाञ्जलीका शब्द पोखिएका छन् । देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओलीदेखि सामान्य नागरिकले दुःख व्यक्त गरिरहेका छन् ।
यो शोक व्यक्त, सहानुभूति मङ्गलबार अल्पायुमा निधन भएका जनताका प्रतिनिधि धरान उपमहानगरका प्रमुख तारा सुब्बाप्रति थियो । तीनवर्ष अघिमात्र मृगौला प्रत्यारोपण गरी महँगो औषधि सेवन गरिरहेका सुब्बालाई चिकित्सकले आराम गर्ने सल्लाह दिएका थिए । तर उनले चिकित्सकको सल्लाह पालन गर्न पाएनन् ।
उनको धरानेको सेवा र पार्टीप्रतिको योगदानको उच्च मूल्याङ्कन गर्दै धरान उपमहानगर प्रमुखमा तात्कालीन नेकपा (एमाले)बाट टिकट दिएपछि चुनावी अभियानमा रात–दिन खटे । उनको जीवन व्यस्त बन्यो । जनताको कामको धपेडीले उनले आराम गर्नेसमेत समय पाएनन् । जो आज उनको मृत्युको कारण बन्यो ।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका सुब्बा धरान आएदेखि नै उनले धरानको मेयर भएर जनताको सेवा गर्ने अठोट गरेका थिए । उनको अठोट तोड्न उनकी जीवन साथी इन्दु राईले हङ्कङको आईडी लिएर आइन् । उनले आफ्नी जीवन साथीको हङ्कङ जाने प्रस्ताव पनि अस्वीकार गरिदिए । धरानेकै मायामा श्रीमान्–श्रीमती हङ्कङ गएर सम्पत्ति कमाउने प्रस्ताव अस्वीकार गरे । श्रीमतीलाई एक्लै हङ्कङ पठाएर आफूले धराने जनतासँगै दुःख–सुख बिताउने प्रण गरे ।
जनताबीच रहेर काम गर्ने उनको धोको पूरा गर्ने अवसर एक वर्षअघिको स्थानीय निर्वाचनले जुरायो र मेयरमा निर्वाचित भएर धरानलाई समृद्ध शहर बनाउने खाका बनाए । तर उनले देखेको सपना अधुरै बन्यो । नगरप्रमुख निर्वाचित भएको एक वर्षपछि ५२ वर्षको उमेरमा उनले मङ्गलबार दिउँसो सदाका लागि बिदा लिए ।
सुब्बाले धरान उपमहानगरलाई पूर्वको पर्यटकीय स्थलको केन्द्र, स्मार्ट सिटी, बस्ती विकास, धरान खानेपानी आयोजना, जनसहभागिताको स्फूर्त योजना, बगैंचाको शहर र व्यापारिक ट्रान्जिट सिटी तथा इकोनोमिक करिडोर बनाउन ‘मास्टर प्लान’ बनाएका थिए । निर्वाचित भएर धरानका सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धताअनुसार सुकुम्बासी बस्तीमा घर नं. वितरण गरिसकेका थिए । सुकुम्बासीहरुलाई जग्गाधनी बनाउने उनको अभियान अधुरो रहेको छ ।
नेकपा (एमाले)मा रहेर काम गर्दा निष्ठावान्, दृढ निश्चयी, हरेक कुराको तत्काल निर्णय गर्न सक्ने, दूरदर्शी सोच उनमा थियो । निष्ठाको राजनीतिमा टिकेका सुब्बा हरेक युवा, विद्यार्थीको मनमस्तिष्कमा थिए । कसैलाई समस्या पर्दा अघि सरेर समाधान गर्ने, अप्ठ्यारो काममा कार्यकर्ताहरुलाई हौसला दिन्थे । ‘केही पर्यो भने तारा सुब्बालाई सम्झनू’ भन्ने उनको हौसलाले युवा, विद्यार्थी र राजनीतिक कार्यकर्ताहरुलाई प्रेरणा प्रदान गरिरहन्थ्यो । सबैका प्रिय नेता भएर जनताको काम गर्ने केही असल नेताहरुको समूहमा सुब्बा पनि थिए । युवा विद्यार्थीहरु नै देशका खम्बा हुन् भन्ने सोच बनाएर उनी काम गर्थे । त्यही भएर मेयर हुने बित्तिकै आफ्नो सचिवालयमा विद्यार्थी र युवालाई अवसर दिएका थिए ।
मिडियाप्रति अत्यन्त सकारात्मक सोच राख्ने सुब्बा नगरअध्यक्ष हुँदा धरानलाई कसरी विकास गर्न सकिन्छ । एमालेका एजेण्डा के हुन सक्छन् भन्ने विषयमा छलफल गरिरहन्थे । नगरपालिकामा आएपछि पनि मिडियासँग निरन्तर छलफलमा थिए । उनले प्रेस संयोजक राखेर धरान उपमहानगरलाई मिडियामैत्री बनाएका थिए ।
भलै उनले अवसर दिएका केही व्यक्तिहरुको गलत सल्लाहका कारण आलोचित भए होलान् तर हजारौं गुणका धनी सुब्बा एक–दुई वैगुनको गणना गर्नलायक भएनन् । सबै राजनीतिक दलहरुलाई मिलाएर लान सक्ने खुबी भएका सुब्बा हरेकका लागि आँखामा राखे पनि नबिझाउने थिए । कुनै आर्थिक प्रलोभनमा नपर्ने, सबैलाई समेटेर लानु पर्दछ भन्ने सोच भएका कारण नै उनी धरानमा लोकप्रिय नेता भएका हुन् । जनसहभागिताको नमूना शहर, सफा र पक्की सडक सबै वडामा पुगेको शहर धरानको पहिचान यही हो । यसलाई दीर्घकालसम्म कायम राख्न सुब्बालले मास्टर प्लान नै तयार गरेका छन् । यो अभियानका उनी साक्षीमात्र नभएर अभियानकर्ता नै हुन् ।
मेयर भएपछि बसपार्क निर्माण, डाँडाघोपामा एयरपोट, चिण्डेडाँडा र विष्णुपादुकामा भ्युटावर निर्माणसँगै धरानलाई पर्यटकीय हब बनाउन योजना अघि सारेका थिए । स्मार्ट सिटी बनाउने, धरानका चारवटै नाकामा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, सुकुम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र धरान, विष्णुपादुका, विजयपुर, भडेटार केवलकार सञ्चालन गर्ने उनको सपना थियो । विडम्बना उनको सपना पूरा भएन ।
अबको नेतृत्वले उनले देखेको सपना पूरा गर्नसके मात्र उनको आत्माले शान्ति पाउनेछ । युवा अवस्थामा पूरै राजनीतिमा होमिए । कहीँ कतै आर्थिक प्रलोभनमा नपरी सेवा गरेका प्रमाणहरु जीवितै छन् । जीवनभरि धरानको उत्थानमा लागेका सुब्बाको सपना अबका पुस्ताले पूरा गर्नु पर्दछ । नेकपाले पनि उनका महत्वाकांक्षी योजनाहरु पूरा गर्न दबाव दिनु पर्दछ ।
राजनीतिका अथक योद्धा, लोकप्रिय जनप्रतिनिधि सुब्बा जनताको मनमस्तिष्कमा सदा चम्किरहनेछन् । आशा गरौं, उनले देखेको अधुरो सपना आउने पिँढीले पूरा गर्नेछन् । उनको वैकुण्ठबास होस् । हार्दिक श्रद्धाञ्जली ।