सिरहा । सिरहा जिल्लाको मूटु रहेको मिर्चैया नगरपालिका वडा नम्बर ८ भगवतपुरको नवनिर्मित भवन उद्घाटन सम्बन्धमा विवाद हुँदा दुईपक्षवीच झडप भएको छ । वडा कार्यालयको नवनिर्मित भवन उद्घाटनकोे कार्यक्रममा झड्प हुँदा मिर्चैया नगरपालिका ८ भगवतपुरका ५५ वर्षिय राम अशिष यादव उभोगता समितिका अध्यक्ष र उनको भाई ४४ वर्षिय मनिकलाल यादव गम्भीर घाईते भएका छन् । गम्भीर घाईते दुवैको थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र शाहले जनाएको छ । त्यसगरी स्थानीय ३४ वर्षीय मनोज कुमार यादव र विष्णु यादव सामान्य घाइते भएका छन् । उनीहरुको मिर्चैयास्थित मिर्चैया नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ ।

झडप किन भयो

उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा निर्माण गरेको तीन कोठे भवन हस्तान्तरणको कार्यक्रम वुधवार राखिएको थियो । हस्तान्तरण कार्यक्रम रहेपनि ब्यानरमा उद्घाटन कार्यक्रम उल्लेख भएपछि विवाद सुरु भएको थियो । वडा अध्यक्ष राम जगत यादवले हस्तान्तरण कार्यक्रममा उद्घाटनको ब्यानगर देखेपछि प्रतिवाद गरेका थिए । वडा अध्यक्ष यादवले भने, ‘आज साँचो हस्तान्तरण कार्यक्रम थियो । तर उद्घाटनको ब्यानर राखिएको थियो ।’ वडा अध्यक्ष यादवले उद्घाटनको ब्यानर हटाउन आफूले भनेपछि रामअशिष र मनिकलालले हातपात गरेको दाबी गरेका छन् । यता भवन निर्माण गर्ने उपभोक्ता समितिका सचिव रामबाबु रायले भवन हस्तान्तरणको कार्यक्रम भएको तर ब्यानगरमा उद्घाटन भएपछि मेयर श्रवण यादवले कार्यक्रम स्थगन गरेको बताए । कार्यक्रम स्थगत भएपछि वडा अध्यक्ष लगायतका केही स्थानीयले उपभोक्ता समितिका अध्यक्ष राम अशिष यादवको घरमा गएर होहल्ला गर्दै विवाद गरेका सचिव रायले बताए । वडा अध्यक्षसँग आएकाहरुले त्यही क्रममा रामअशिष र मनिकलाल माथि आक्रमण गरेको सचिव रायले बताएका छन् । त्यस क्रममा वडा अध्यक्ष यादवले मिचैया नगरपालिकाका कर्मचारी धन्जय महतोमाथि पनि हातपात गरेको सचिव रायले बताए ।

हस्तान्तरण कार्यक्रममा मेयर श्रवण यादव, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पौडेल लगायत सहभागि भएका थिए । उनीहरु भवन हस्तान्तरण कार्यक्रम नभएपछि फर्किएका थिए । घटना वारे मेयर श्रवण यादवसँग प्रतिक्रिया लिन खोज्दा फोन रिसिब भएन । वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वा्चित हुन् । मेयर यादव नेकपा (माओवादी केन्द्र) बाट निर्वा्चित भएको हुँदा विभिन्न विषयमा दुवैवीच कुरा नमिल्ने गरेको स्थानीयको भनाई छ । मेयर यादवले वडा कार्यालय भवन निर्माण गराउन आफैंले सक्रियता देखाएका थिए ।

मिर्चैया नगरपालिका ८ भगवतपुरका वडा अध्यक्ष राम जगत यादवलाई प्रहरीले घटनावारे सोधपुछ गरिरहेको बताएका छन् । प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र शाहले दुईपक्षवीच झडप भएको र घाईतेहरुको उपचार भईरहेको बताएका छन् । डिएसपी शाहले भने, ‘अहिले अवस्था समान्य छ । समान्य विषयवस्तुमा झडप भएको छ ।’