पाँचथर / पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी पर्न थालेपछि यहाँका अधिकांश स्थानीयवासी अन्यत्र बसाइँ सरेर जान थालेका हुन् । पहिला गाउँपालिकाको माथिल्लो भेगमा पानीको मूल सुकेको र अहिले तल्लो भेगमा समेत पानीको मुहान पूरै सुकेको र पानी समेत पर्न छोडेपछि खडेरीनै लागेको छ । अधिकांश मानिस यही कारणले झापा, धरान, दमक र जिल्ला सदरमुकाम बसाइँ सरिरहेका छन् । पानीका मुहान सुकेपछि धारामा पानी आउन छाडेकाले बसाइँसराइको विकल्प नभएको यामबहादुर ढुङ्गानाले बताए । बसाइँ सरेर गए पनि आफूहरुले घर जग्गा नबेचेको ढुङ्गानाले बताए । “घरजग्गा त्यत्तिकै छोडेर हिँडियो, बाउ बाजेको सम्पत्ती बेच्न माया लाग्छ”, उनले भने, “पानी नभएपछि के गर्ने बाबुआमा निकै टाढादेखि पानी पिठ्युँमा बोकेर खान्थे ।”
कुवा तथा धारामा वर्षात्को समयमा केही रसाए जस्तो भए पनि एक गाग्रो पानी भर्न बिहानै जाने गरेको तुम्बेवा १ आहालेका नेत्रबहादुर तामाङले बताए । तामाङले पानी अभावले काकाकुल बन्नु परेकाले नै बसाइँ सरेको बताए । “पानी छैन, मान्छेले के खानु रु वस्तुलाई के खुवाउनु रु मर्न भन्दा त अब बसाइँ सर्न ठीक”, उनले भने । उनले गाउँघरको माया लागेर आउने तर पानीको सुविधा भएको भए बसाइँ सर्नुपर्ने बाध्य हुनुपर्ने थिएन भने ।
तुम्बेवाको आहाले, चनौटे, लुमाङदिङ, आम्बोटे, माखिम, रातमाटे, थेपाङ, सोभारा, चुवाडे, मेवा, भर्लेनी, तिल्केनी लगायतका गाउँमा पानीको हाहाकार छ । यी ठाउँबाट बसाइँसराइ दर बढी छ । बसाइँसराइले यहाँका अधिकांश गाउँ ४ र ५ घर भन्दा धेरै घर नभएको अतुम्बेवा १ आहालेका वीरेन्द्र कार्कीले गुनासो गरे । बाँकी रहेका पनि विस्तारै बसाइँ सर्ने सोच बनाइरहेको उनको भनाइ थियो ।
विद्यालयमा दुई गाग्रा पानी बोक्न तीन हजार तलब
यस गाउँपालिकाका विद्यालयमासमेत पानीको अभावले बन्द हुने स्थितिमा पुगेका छन् । विद्यार्थी विद्यालय जान छाडेका छन् । विद्यालयमा गएका विद्यार्थी पनि पानीकै कारण चाँडै घर फर्किने गरेको तुम्बेवा गाउँपालिका–१ आहालेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक तीलक दाहालले बताए । सो गाउँपालिकाको अति सुख्खाग्रस्त क्षेत्रभित्र परेको सरस्वती आधारभूत विद्यालयले दिनको दुई गाग्रा पानी बोक्न महिनाको तीन हजार तलब दिएर कर्मचारी खटाएको विद्यालयका प्रधानाध्यापक दाहालले बताए । पानी खान नपाउँदा विद्यार्थी बीचैका कक्षा छोडेर जान थालेपछि आफूले तलब दिएर कर्मचारी राखेको उनले बताए। तीन घण्टाको उकालो–ओरालो बाटो हिँडेर दिनमा दुई गाग्रा पानि मात्र ल्याउन सकिन्छ । तर, दुई गाग्रा पानीले पनि विद्यार्थीलाई धान्न गाह्रो भएको छ । गाउँपालिकाभित्र करीब ४० सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालय पानी अभावले बन्द हुने स्थितिमा छन् । गाउँपालिकाले विद्यालय बन्द हुन नदिन विशेष प्याकेजको तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले जानकारी दिए । रासस