बेलबारी । मोरङको केराबारी गाउँपालिकाको वडा नं. ८ मा सामुदायिक स्वास्थ्य इकाईको बुधबार उद्घाटन भएको छ ।
केराबारी गाउँपालिकाका प्रमुख रोहितबहादुर कार्कीले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयमा एक–एकजना अहेब, अनमीले स्वास्थ्य सेवा दिने भएका छन् ।
स्वास्थ्य इकाई व्यवस्थापनका लागि वडापालिका र गाउँपालिकाको संयुक्त रूपमा व्यवस्थापन रहने वडाअध्यक्ष मनोज खड्काले बताए ।
केराबारी गाउँपालिका रहेका १० ओटा वडा मध्ये ४, ६ र ८ नम्बर वडामा स्वास्थ्य संस्था नहुँदा नजिकै तथा मुख्य बजारको भर पर्नुपर्ने अवस्था रहेको थियो । वडामा स्वास्थ्य इकाई सञ्चालन हुने भएकाले नागरिकले सेवा पाउने खड्काले बताए ।
सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू भुजेललगायत सरकारी कार्यालय तथा सङ्घ–संस्थाका प्रतिनीधिहरूको उपस्थिति थियो ।