पथरीका २ वटा संस्था वन्द गराइयो

पथरीशनिश्चरे-मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका अधिकांश नीजि स्वास्थ्य संस्था मापदण्ड विपरित सञ्चालन भएको खुल्न आएको छ ।पथरीशनिश्चरे नगरपालिकाको अगुवाईमा शुक्रवार अस्पताल, क्लिनिक, फार्मेसी सहितका १३ वटा स्वास्थ्य संस्थाको अनुगमनका क्रममा अवैधानिक रुपमा सञ्चालन भएका २ वटा पसल वन्द समेत गरिएको छ । पथरी चोकमा रहेको २४ घण्टे डेलिभरी सेवाको समेत बोर्ड राखेर सञ्चालित सुमित्रा फार्मेसी र त्यसभन्दा पूर्व केही समययता स्थापना भएको दीर्घायु आयुर्वेदिक मेडिकल हल बन्द गरिएको हो । लामो समयदेखि सञ्चालित सुमित्रा फार्मेसीमा सञ्चालनको प्रमाणपत्र अर्काैको नाममा रहेको तथा संस्था नविकरण समेत नगरिएको खुलेको छ । दीघार्यु मेडिकलमा सञ्चालनको प्रमाणपत्रवाला व्यक्ति नहुनुका साथै अस्पताल दर्ता नै नगरी डाक्टर राखेर ल्याव सञ्चालन गर्दै औषधि समेत निर्माण गर्ने गरेको पाइएको अनुगमन् टोली संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाइन् । यी दुई संस्थाका सञ्चालकलाई आइतवार नगरपालिका कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ ।‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्नै मिल्दैन ।

हामीले सवैलाई सचेत गराउँदै कानूनी प्रक्रिया पुरा गरेर सञ्चालन गराउन जानकारी गराउँदै अनुगमन् अभियान थालेका छौं ।’– टोली संयोजक वास्तोलाले भनिन् ।औषधि व्यवस्था विभाग मोरङका फार्मेसी निर्देशक जयन्द्र बोगटी, जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन राजेन्द्र चौधरी, कोशी अञ्चल अस्पतालका एक्सरे विभागका रामनारायण यादव, मंगलवारे अस्पताल उर्लावारीका डाक्टर योगेशकुमार मण्डल सहितको टोलीले अनुगमन् गरेको थियो । पथरी उद्योग वाणिज्य संघ सहितका सामाजिक प्रतिनिधि, पत्रकारहरुको सहभागितामा भएको अनुगमन्मा अधिकांश स्वास्थ्य संस्थाले नविकरण गर्न वाँकी रहेको तथा न्यूनतम् मापदण्ड पुरा नगरेकाले सचेत गराउँदै २१ दिनभित्र त्यसखाले प्रक्रिया पुरा गर्न जानकारी गराइएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले उल्लेख गरे । उनले नगरका अनुगमन् भएमध्ये ३ वटा अस्पतालमध्ये मोरङ अस्पतालमा विरामीको बेडको व्यवस्थापन, एक्सरे मेसिन वढी क्षमताको राख्न निर्देशन दिइएको छ । कावेली अस्पतालको केही व्यवस्थापकीय पक्षमात्रै व्यवस्थापनको आवश्यता देखिएको उल्लेख छ ।

पथरी हस्पिटलको अलि वढी पूर्वाधार पुरा गर्नुपर्ने देखिएकाले पूर्वाधार पुरा गरेर मात्रै नविकरण गर्न आउन निर्देशन दिइएको आचार्यले वताए ।आचार्यले अनुगमन्का क्रममा अधिकांशले नयाँ आर्थिक वर्षका लागि संस्था नविकरण गर्न वाँकी रहेको देखिएको सुनाए । उनले केहीले औषधि पसल सञ्चालनको अनुमति लिई डाक्टर समेत राखेर क्लिनिक सञ्चालन गरेको, विक्रीमा प्रतिवन्धित गर्भपतन सहितका औषधि विक्री गरेको, केहीले क्लिनिक सञ्चालन गर्दा एमवीवीएस डाक्टर नराखी सञ्चालन गरेको सहितका मापदण्ड विपरित भएको पाइएको जनाए । त्यसखाले मापदण्ड पुरा गराउनका लागि उनीहरुलाई सचेत गराउँदै पुनः अनुगमन् गर्दा मापदण्ड पुरा नभएकै अवस्था पाइएमा त्यस्तो संस्था वन्द गराउने वताइएको छ ।

एउटामा क्लिनिकको बोर्ड राखेको भएपनि क्लिनिक सञ्चालनमा नभएको समेत पाइएको छ ।अनुगमन् टोली आएको थाहा पाएपछि फार्मेसी एवम् क्लिनिक गरी ३ वटा स्वास्थ्य संस्था वन्द गरेको पाइएकोमा ती संस्थालाई २ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन समेत निर्देशन दिइएको छ । नगरपालिकाले अव खाद्यान्हको समेत अनुगमन् गर्ने भएको छ । नगरवासीको स्वास्थ्यमाथि संवेदनशील वन्न सम्वद्ध पक्षलाई नगरपालिकाले आग्रह गरेको छ ।