बेलबारी/ सिंहदरबारको अधिकार गाउँमा आउने बित्तिकै नदीजन्य पदार्थमा मोरङका गाउँपालिका तथा नगरपालिकाले ठेक्का लगाएका छन् । यसअघि खोलाको ठेक्का लगाउने दायित्व जिल्ला विकास समितिलाई थियो ।
हाल जिल्ला विकास समितिको नाम बदलिएर जिल्ला समन्वय समिति (जिसस) भएको छ । तर, खोला ठेक्का लगाउने अधिकार जिससलाई छैन । प्राकृतिक स्रोतसाधनमाथि ठेक्का लगाउने अधिकार स्थानीय सरकारलाई छ ।
खोला ठेक्का लगाउने क्रममा केही स्थानमा विवाद पनि सिर्जना भएको छ । केही स्थानमा ठेकेदारसँगको मिलेमतोमा ठेक्का लागेको आरोप लाग्दै आएको छ । उत्तरी मोरङका पाँचवटा स्थानीय तहमा ३५ करोडभन्दा बढी रकममा खोलाको ठेक्का लागेको छ ।
उक्त रकम जिल्ला विकास समिति मोरङले लगाएको खोला ठेक्काभन्दा बढी रकम हो । अघिल्लो आर्थिक वर्षमा २८ करोडमा ठेक्का लागेको जिल्ला समन्वय समितिका सभापति नरेश पोख्रेलले बताए ।
मोरङको केराबारी गाउँपालिकाको लोहोन्द्रा, मुगु र हुर्रहुरे खोलाको बिक्री तथा निकासी करका लागि १६ करोड ८० लाखमा लागेको गाउँपालिकाका प्रवक्ता जङ्ग भुजेलले बताए ।
पूर्वाञ्चल क्रसर उद्योगका ठेकेदार शारदा ढकालको नाममा परेको ठेक्का सम्झौता भने स्वीकृत भएको छैन । उक्त ठेक्का अहिले सम्झौता भइनसकेको कारण दोस्रो कबोल झर्ने सम्भावना रहेको छ ।
यसोहुँदा गाउँपालिकालाई २९ लाख घाटा हुने देखिएको छ ।
त्यस्तै सुन्दरहरैंचाको गछिया खोलाको निकासी ६ करोड ३१ लाख ५० हजारमा ठेक्का लागेको नगरका अधिकृत राजेन्द्र भट्टराईले बताए । उर्लाबारी नगरपालिकाले त्यहाँका खोला ३ करोड ५६ लाखमा ठेक्का लागेर सम्झौता भइसकेको नगरका प्रवक्ता भानुभक्त शर्माले बताए ।
उर्लाबारीमा ठेक्काको फारम दर्ताको विषयमा विवाद समेत भएको थियो । गोविन्द भट्टराईको नाममा परेको उर्लाबारीको खोला ठेक्काको सम्झौता भइसकेको छ ।
लेटाङ नगरपालिकाको चिसाङ र जाँतेको खोला ४ करोड ७ लाखमा इटहरी–२ को मनोकामना विनिताश्री कम्पनीले पाएको छ । न्यूनतम ठेक्का रकमभन्दा दुई लाखमात्र बढी रकममा ठेक्का पाएको बुझिएको छ ।
बेलबारीको लोहोन्द्रा र चिसाङ खोला २ करोड ८८ लाख १५ हजारमा ठेक्का लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तोकेको न्यूनतम रकमभन्दा १० हजारमात्र बढेर ठेक्का लागेको हो ।
त्यसैगरी मिक्लाजुङ गाउँपालिकाको नुनसरी, बक्राहालगायतका खोलामा ७ करोड ५० लाख कबोल भए पनि सम्झौता हुने सम्भावना न्यून देखिएपछि तेस्रो कबोलअनुसार ५ करोड ४० लाखमा ठेक्का लाग्ने बुझिएको छ ।