बेलबारी/ वातावरणलाई प्रत्यक्ष रुपमा अशर पार्ने प्लाष्टिक झोलालाई विस्थापित गर्न मोरङर बेलबारी नगरपालिकाले नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने कार्यक्रम सुरु गरेको छ ।
बुधबार बेलबारीमा आयोजित “नगरलाई प्लाष्टिक मुक्त नगरपालिका घोषणा गर्ने रणनीति तथा योजना तर्जुमा गोष्ठी” विषयक कार्यक्रम मार्फत सो जानकारी दिईएको हो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, उद्योगवाणिज्य संघका प्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि, संचारकर्मी तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाका प्रवक्ता तथा बेलबारी नगरपालिकाका कार्यवाहक नगरप्रमुख योगेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । नगरलाई प्लाष्टिक झोलामूक्त बनाउने अभियानमा लाग्न सबै नगरवासीलाई सुवेदीले अपिल गरे । सफा र स्वच्छ नगर बनाउन दायित्व नगरपालिकाको भएपनि यसमा सबै निकायको सहयोगको उतिकै खाचो रहेको बताए ।
त्यसैगरी प्रमुख प्रशाशकीय अधिकृत गणेशप्रसाद दाहालले प्लास्टिक र प्लाष्टिकजन्य बस्तुले वातावरणमा पार्ने प्रभावको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीहरुले नगरलाई प्लाष्टिक मूक्त बनाउन आ-आफ्नो स्थानबाट खेल्नुपर्ने भूमिकाको विषयमा धारणा राखेका थिए ।
गोष्ठीमा सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरेर छलफल गराईएको थियो । नगरपालिकाका सामाजिक शाखाका प्रमुख झमक घिमिरे तथा सामान्य प्रशासन शाखा प्रमुख महेन्द्र खड्काले गोष्ठीको सहजिकरण गरेका थिए ।