ताप्लेजुङ/ ग्रामीणभेगमा नदीको बहाव घट्दै गएपछि बाटोलाई छोटो बनाउन र त्यसबाट मान्छे आवत–जावत गर्न फड्के थाप्ने चलन छ । लामो बाटो नघुम्न र छिटो गन्तव्यमा पुग्न गाउँटोललाई अनुकूल हुने गरी फड्के बनाउने चलन अझै हराएको छैन ।
पछिल्लो समय गाउँ–गाउँमा सडक पनि पुगेका छन् । अहिले खोला नदीमा गाडी आवत–जावतका लागि पनि यस्तै विधि अपनाउन थालिएको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा काठको अस्थायी पुल बनाउने क्रमले पनि गति पाएको छ । एकपछि अर्को अस्थायी पुल बन्न थालेका छन् । यो स्थायी नभई हिउँदभरका लागि मात्रै हो । वर्षा लागेपछि यस्ता पुललाई कि निकालेर राख्नुपर्छ कि त खोलाले बगाउँछ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाको खेजेनिम र लिङ्खिम जोड्ने खोलामा यस्तै काठको अस्थायी पुलको निर्माण गरिएको छ ।
अस्थायी पुल निर्माण भएपछि अहिले धमाधम सवारी साधन सञ्चालनमा छन् । सो गाउँपालिकाको अन्य स्थानमा पनि काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए । गाउँपालिकाद्वारा तापेथोक–इखाबु र रानीपुल–लेलेप सडक–खण्डमा पर्ने तमोर नदीमा अस्थायी पुल बनाएको हो । पुलमार्फत् पहिलो पटक जिल्लाका इखाबु र लेलेपमा सवारी साधन पुगेको छ ।
सवारी साधन पुगेपछि त्यहाँका स्थानीय खुशी बनेका छन् । गाउँपालिकाको ४ लाख ५० हजारको लागतमा पुल बनाइएको गाउँपालिका अध्यक्ष एभेङले बताएका छन् । सो गाउँपालिकाकाले मानाभरा महोत्सवको अवसर पारेर स्थानीयको सक्रियतामा पहिलो पटक अस्थायी पुल निर्माण गरी सवारीसाधन सञ्चालन गरेको थियो । त्यसअघि नै सानीमा हाइड्रोपावरले तमोर नदीमा अस्थायी पुल निर्माण गरेको थियो ।
नदीमा ६ वटा होमपाइप हालेर फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा गाडी आवत–जावत गर्ने बनाइएको छ । थुम्बा बेंसीछेउमा तमोर नदीमा होमपाइपबाट पानी कटाएर त्यसमाथि गाडी गुड्ने बनाइएको छ । त्योसँगै मिक्वाखोला गाउँपालिकाको वडा नं. ३ लिवाङसम्म सवारी साधन पुगेको छ । ‘अस्थायी पुलले गर्दा घरैसम्म गाडी आयो’ खेजेनिमका राजेन्द्रबहादुर लिम्बूले खुशी हुँदै भने, ‘पहिले–पहिले हामी फड्केबाट खोला वारपार गथ्र्यौं । अहिले त गाडी पनि फड्केबाट तर्दै छ ।’
यहाँ पुल बने ओलाङ्चुङगोला र लेलेपका बासिन्दालाई गाउँपालिकाको केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङ आउन सहज हुन्छ भने पर्यटकीय कञ्चनजङ्घा क्षेत्र र ओलाङ्चुङगोला जानेका लागि राहत हुन्छ । तर होम पाइपभन्दा काठको पुल भरपर्दो हुने स्थानीयको बुझाइ छ । ‘एउटा होमपाइपलाई एक लाख पर्ने रहेछ । त्यो राख्दा र निकाल्दा टुटफुट हुने सम्भावना धेरै हुन्छ ।
त्यसैले काठको पुल बनाएका छौं’ –एभेङले भने । पहिलो हिउँदमै यति धेरै अस्थायी पुल बने अर्को वर्षदेखि फेसन बन्न सक्ने स्थानीय बताउँछन् । जिल्लामा तमोर, मेवा, मैवा, कावेलीजस्ता नदीहरू रहेका छन् । ‘धेरैजसो गाउँपालिकाले खोलासम्म र हिउँदमा स्काभेटरले टोल–टोलमा बाटो पु¥याएका छन्’ लिवाङका जयराम कार्कीले भने, ‘गाडी कसरी पु¥याउने भन्ने थियो, नयाँ उपायको शुरुवात भएको छ, यसले गति पाउन सक्छ ।’