दमक/झापाको शिवसताक्षी नगरपालिकाको दक्षिणी क्षेत्रका नागरिक स्थानीय नदीमा पुल नहुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । पुलको अभावमै बिरामी पर्दा समयमा उपचार गर्न समेत जान नसकेको यहाँका नागरिकले बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका २ कामीचौन की विष्णुमाया माबोको ४१ वर्षको उमेरमा निधन भयो । घरमा अचानक बिरामी भएकी माबोलाई तत्काल उपचारमा लान सकिएन । समयमा उपचार नपाउँदा उनको निधन भएको श्रीमान् सन्त माबोले सम्झिए । भदौ महिनाको अन्तिम साता थियो । घर नजिकै रहेको बनयानी खोलामा बाढी आएको थियो । बाढीले हिउँद महिनामा मानिस तर्न सक्नेगरी निर्माण गरिएको बाँसको पुलसमेत बगाएर आवतजावत् पूर्णरूपमा बन्द भएको थियो । पुल बगाएपछि मानिसको आवतजावत् नै बन्द भएको थियो ।

घरदेखि १० मिनेटको बाटो बनयानी खोला पारी शिवगञ्जमा स्वास्थ्य केन्द्र र एम्बुलेन्स पनि थियो । तर खोलाबाट आवतजावत् गर्न नसक्दा श्रीमतीको समयमा उपचारका लागि लैजान नसकेको माबो बताउँछन् । यो एउटा प्रतिनिधि घटना मात्र हो । यो गाउँका अधिकांश मानिसले खोला पुल नहुँदा १० मिनेटमा पुग्ने सोही नगरपालिका–३ स्थित शिवगञ्ज बजारमा १५ किलोमिटर घुमेरमात्र पुग्नु पर्ने बाध्यता भोगिरहेको बताएका छन् । यसरी पुल नहुँदा सुत्केरी, बृद्ध, बालबालिकालाई समय उपचार गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको स्थानीय बासिन्दाको भनाइ छ ।

यो गाउँँका मानिसले विद्यालय, बजारदेखि स्वास्थ्य केन्द्र आवतजावत् गर्न समेत बनयानी खोला नतरी सुख छैन । यो गाउँका मानिसले एक रुपैयाँको सलाइ किन्न १५ किलोमिटर लामो बाटो घुमेर पुग्नु पर्ने बाध्यता रहेको शिवगञ्जस्थित सरस्वती प्राविकी शिक्षिका पवित्रा न्यौपानेले बताइन् ।

वर्षायाम शुरु भएपछि कामीचौनका विद्यार्थीले खोला तर्न नसकेर विद्यालय जान नै नपाउने गरेको शिवगञ्जस्थित जनआदर्श माविमा कक्षा–१० मा अध्ययनरत छात्रा रीता थापा बताउँछिन् । ‘मजस्तै धेरै बालबालिका खोला तर्न नसकेर विद्यालय जानबाट बञ्चित हुने गरेका छन्, हिउँदभरि बाँस काठको पुल निर्माण गरिन्छ वर्षायाममा बाढीले बगाएपछि खोला तर्न सकिन्न अनि वर्षमा दुईदेखि तीन महिनासम्म विद्यालय जान पाइँदैन ।’

शिवसताक्षी नगरपालिका–२ धरमपुर–मङ्गलबारे– शिवगञ्ज सडकअन्तर्गत पर्ने बनयानी खोलाले धेरै हैरान हुने गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दा अब दुई वर्षपछि कुनै नागरिकले झापामा बाँस काठको पुल तर्नु नपर्ने घोषणा गरेका थिए । केपी शर्मा ओलीकोे भाषणबाट स्थानीय निक्कै उत्साहित समेत भएका थिए ।

पुलको शिलान्यास
यसरी नागरिकको पाएको सास्तीलाई मध्यनजर गरेर यहाँका विभिन्न स्थानमा पुल निर्माणका लागि शिलान्यास गरिएको छ । बुधबार प्रनितिधिसभा सदस्य एलपी सावा, प्रदेशसभा सदस्य झलकसिहं दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मालगायतले संयुक्त रूपमा यस क्षेत्रमा पक्की पुलको शिलान्यास गरेका छन् । करिब १ हजार घर सङ्ख्या लाभान्वित हुने उद्देश्यले यहाँ ७३ लाख ६८ हजार ९ सय ३० को लागतमा पुल बक्स कल्भर्टका लागि शिलान्यास भएको छ । त्यसैगरी बुधबार नै डुँडाबारी खोलाको पुलसमेत समुद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य एलपी साँवाको सांसद् विकास कोषबाट ५० लाख, नगरपालिकाबाट २० लाख र बाँकी ३ लाख ६८ हजार ९ सय ३० रुपैयाँसहितको साझेदारी लगानीमा यहाँ बक्स कल्भर्ट निर्माण हुने भएको हो ।

त्यसैगरी बुधबार नै शिवसताक्षी–३ स्थित डुँडामारी खोलामा पनि पक्की पुलको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य साँवाको संसद विकास कोषबाट ५० लाख, नगरपालिकाबाट २० लाख र जनसहभागिताबाट ३ लाख ६८ हजार ४ सय २१ रुपैयाँ गरी कुल ७३ लाख ६८ हजार ४ सय २१ रुपैयाँको लागतमा निर्माण हुने पुलको सांसद् साँवा र नगर प्रमुख शेर्माले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । नगरपालिकाको रिङरोडअन्र्तगत पारबारी दक्षिण सिङ्घारी खोलामा समेत बक्स कल्भर्टको शिलान्यास गरिएको छ ।

नगरपालिकाको ३५ लाख अनुदानसहित उपभोक्ताबाट १ लाख ८४ हजार ७९६ रुपैयाँ सङ्कलन गरी कुल ३६ लाख ८४ हजार ७ सय ९६ रुपैयाँको लागतमा बन्न लागेको बक्स कल्भर्टको सांसद् साँवा र नगर प्रमुख शेर्माले शिलान्यास गरे । यी सबै योजना यही आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने गरी उपभोक्ता समितिसँग सम्झौता गरिएको नगर प्रमुख शेर्माले बताए ।