जिरोपोइन्ट/ नारी स्वतन्त्र मञ्च नेपाल सुनसरीले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले चालक प्रशिक्षण तालिम बिहीबारदेखि शुरु भएको छ ।
तालिमको धरान उपमहानगरकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले ट्याम्पु चलाएर उद्घाटन गरिन् । १५ दिनसम्म चल्ने तालिममा ७ जना महिलाहरू सहभागी छन् ।
कार्यबाहक प्रमुख भण्डारीले महिलाहरूको सीप र व्यक्तित्व विकासका लागि नगरले सक्दो सहयोग गर्ने बताइन् । उनले आर्थिक अवस्था कमजोर भएका महिलाहरूको आर्थिक विकासका लागि समेत नगरले सहयोग गर्ने बताइन् ।
महिलाहरूलाई सीपमूलक बनाउनका लागि तालिम आयोजना गरिएको नारी स्वतन्त्र मञ्चकी अध्यक्ष बिना पुमा राईले जानकारी दिइन् ।
महिलाहरूलाई सक्षम चालक बनाउन आफूले कुनै कसर बाँकी नराख्ने न्यू चुम्लुङ ड्राइभिङ अभ्यास सेन्टरका प्रशिक्षक बिकास राईले बताए । धरान–१५ नम्बर वडाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । तालिममा सहभागीहरू १५ नम्बर वडाबासी हुन् ।
तस्बिरः उपेन्द्र चाम्लिङ