इटहरी/ आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय फुटबल टोली यतिखेर बन्द प्रशिक्षणमा व्यस्त छन् ।
आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा हुने साफ च्याम्पियनको तयारीका लागि उनीहरू इटहरीमा बन्द प्रशिक्षणमा व्यस्त रहेका हुन् । भर्खरै भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिम यतिखेर बन्द प्रशिक्षणमा रहेका हुन् ।
बन्द प्रशिक्षण मङ्गलबारबाट इटहरी रङ्गशालामा शुरु भएको छ । भारतको भुवनेश्वरमा सम्पन्न प्रतियोगितामा नेपालले भारत र इरानजस्ता बलिया टोलीलाई पराजित गर्दै फाइनल खेलेको थियो । भारतलाई पराजित गरेकाले टिमको मनोबल उच्च भएको कप्तान निरु थापाले बताइन् । उनले भनिन्, ‘भारतमा भएको प्रतियोगिताले हामीलाई धेरै उत्साह थपेको छ । उत्साहका साथ बन्द प्रशिक्षणमा बसेका छौ ।’
साफ च्याम्पियनसीपलाई लक्षित गर्दै नेपाल फर्किए लगत्तै बन्द प्रशिक्षणमा राखिएको प्रशिक्षक हरी खड्काले बताए । उनले साफ च्याम्पियन जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताए । प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनिक गरिने उनले जानकारी दिए । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ । साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुने उनले जनाए । मौसमका कारण पनि इटहरी रङ्गशालामा प्रशिक्षण शुरु गरिएको सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले बताए ।
प्रतियोगिता विराटनगरमा हुँदै छ । साफ महिला च्याम्पियनसीप यसअघि श्रीलङ्काले आयोजना गर्ने निर्णय भएको थियो । तर, श्रीलङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने भएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको थियो । एन्फा सुनसरी अध्यक्ष केशब कार्कीले इटहरी शान्त भएकाले पनि प्रशिक्षण गर्नेलाई समेत सहज हुने बताए ।
को–को छन् खेलाडी ?
महिला राष्ट्रिय फुटबल टोलीमा २३ जना रहेका छन् । टोलीमा गोलकिपर अञ्जना राना मगर, उषानाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना शर्मा, मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास रहेका छन् ।