झापा/ मापदण्डभन्दा बाहिर गएर खोला उत्खनन् भइरहेको अनुगमन टोलीले फेला पारेको छ । शुक्रबार मेचीनगर नगरपालिकास्थित निन्दा खोलामा गरेको अनुगमनमा टोलीले नगरपालिका र वडाको सेटिङमा उत्खनन् भइरहेको फेला पारेको हो । 
 
झापा जिल्ला समन्वय समितिले गरेको अनुगमनमा खोलाबाट डोजर प्रयोग गरेर उत्खनन् गरिरहेको भेटिएको थियो । प्रारम्भिक वातावरणीय प्रशिक्षण (आईईई) गर्दा नै सम्बन्धित निकायले तोकेको मापदण्ड र रेखाङ्कन अनुरूप मात्रै डोजर प्रयोग गर्न पाउने प्रावधान छ । त्यतिमात्रै होइन, आईईईमा स्पष्टसँग वातावरणविज्ञ राखेर मात्रै निकाल्न पाउने व्यवस्था रहेको छ ।
 
तर, निन्दा खोलामा त्यस्तो कुनै पनि प्रकारको मापदण्ड पालना गरिएको पाइएको छैन । र, सम्बन्धित निकाय मेचीनगर नगरपालिकाले पनि डोजर प्रयोग गरी उत्खनन् गरिरहँदा पनि चासो देखाएको छैन । मेचीनगर नगरपालिकाले बिनिता टे«डर्स सप्लायर्स इटहरीलाई ५ करोड ४ लाख रुपैयाँमा खोला ठेक्का लगाएको थियो । 
 
सप्लायर्सले तोकिएभन्दा १० गुणा बढी उत्खनन् गर्दा पनि चासो नदेखाएको सरकारी अनुगमन टोलीले फेला पारेको समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । स्थानीयले पनि तोकिएको मापदण्डभन्दा बढी उत्खनन् भइरहेको गुनासो गर्दा पनि नगरपालिकाले चासो नदिएको आरोप लगाएको छ । प्रमुख पोर्तेलले भने तोकिएको ठाउँ छाडेर अन्यत्रबाट पनि ढुङ्गा–गिट्टी बालुवा सङ्कलन गरेको पाइएको बताए । उनले पुलको दायाँ–बायाँ ५ सय मिटर छाडेर मात्रै खोला उत्खनन् गर्न पाउने प्रावधानलाई लत्याएर उत्खनन् गरेको देख्दा आफै आश्चर्यमा परेको बताए । 
 
खोलामा मेसिन प्रयोग गर्दा जिल्ला समन्वय समितिमा अनुमति तथा सिफारिस लिनुपर्ने प्रावधान रहे पनि सिफारिस नलिएको उनले जानकारी दिए । ‘नगरपालिकलाई उत्खनन् रोक्नका लागि आदेश दिएको छौं । ठेक्का लगाएको बाहेक निषेधित क्षेत्रमा ट्याक्टर र डोजर भेटिएकामा नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका छौं’–उनले भने । स्थानीय भीमप्रसाद ओझाले आफूहरूले बारम्बार मापदण्डभन्दा बाहिर गएर खोला उत्खनन् नगर्नका लागि अनुरोध गर्दा पनि कसैले नटेरेको बताए । उनले उल्टै नेताले आफूहरूलाई फोन गरेर थर्काउने गरेको बताए ।
 
भद्रपुरबाट गलगलिया जोड्ने नवनिर्मित पुलमुनीबाटै उत्खनन् गरेको पाइएपछि तत्काल प्रहरीले ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । टोलीले प्रहरीसँगको सहकार्यमा मे. १ त नम्बर उल्लेख भएका ६९०९, ६९७२, ५६०८, ४८३१, ५०५० र ६१४६ का ६ वटा ट्याक्टरलाई नियन्त्रमा लिएको थियो । ट्याक्टर नगरपालिकालाई बुझाएर २५ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको बताए । 
 
मेची खोलाको देवीवस्ती क्षेत्रमा मेची पुलको ५ सय मिटर उत्तर, ४ सय मिटर लम्बाइ, १ सय मिटर चौडाइमा आधा मिटर गहिरो गरी सामग्री उत्खनन्को अधिकार पाएको छ । सो ठाउँबाट १० हजार घनमिटर मात्र सामग्री निकाल्न अनुमति दिइएको छ ।
 
आईईई भएको क्षेत्र गरेको ठाउँ देखाउँदा ट्याक्टरवालाले नमानेको ठेकेदार सञ्जीव पौडेलले बताए । पुलमुनी कुनै पनि ट्याक्टरले हालसम्म उत्खनन् नगरेको उनले दाबी गरे । मेची खोलाको मात्र ४१ लाखमा ठेक्का लिएको उनले जनाए । अर्र्जुनधारा नगरपालिकाको बिरिङ खोलामा पनि मापदण्ड विपरीत खोला उत्खनन् गरेको पाइएको छ । 
 
उक्त क्षेत्रमा पनि उत्खनन् रोक्नका लगि नगरपालिका र प्रहरीलाई निर्देशन दिइएको प्रमुख पोर्तेलले जानकारी दिए । ४ वटा डोजरलाई खोलाबाट उत्खनन् गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । पोर्तेलका अनुसार झापाको १५ वटा स्थानीय तहमा रहेका खोला तथा नदीको अनुगमन कार्यलाई निरन्तरता दिइनेछ ।
 
अनुगमन टोलीमा जिल्ला समन्वय समितिको प्रमुख सामनाथ पोर्तेलसहित जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, सशस्त्र प्रहरी बल झापाका प्रमुखसहित सहभागी थिए ।