इटहरी/ सरकारले हाल तोकिदिएको मापदण्डले केही वर्षअगाडि थोरै जग्गा किन्नेको कन्तविजोक भएको छ । ६ धुरभन्दा कम क्षेत्रफल जग्गा भएका धनीले घर बनाउन नपाउने भएका छन् । २० फिटभन्दा कम चौडाइ भएको बाटोमा पर्ने जग्गामा घर बनाउन नक्सा पास नभएपछि अधिकांश थोरै जग्गा हुनेहरूको बिजोक भएको हो ।
इटहरी–८ का अनुप सुवेदीले हाई–वेमा आफ्नो १० धुर जग्गा र घर भए पनि सुकुम्बासी अवस्थामा आएको बताए । उनले भने, ‘जग्गा सडक विस्तारले हडपेपछि नक्सा पास गर्नै पाइएन ।’ विराटनगर लाइनको चिन्तन चौतारी होटलको अगाडि बनेको आफ्नो घरको पुनः मूल्याङ्कन नहुँदा आफू समस्यामा परेको बताए । घर निर्माण हुँदा हाई–वेबाट साढे ८२ फिट छोडेर घर बनाए पनि अहिले घरको मूल्याङ्कन नहुँदा र मनपरी मापदण्डले आफूहरू समस्यामा परेको बताए । ‘जग्गा बैङ्कमा धितो राखेर ऋण लिई व्यवसाय गर्न गाह्रो भयो’ –सुवेदीले दुःखेसो पोखे ।
सुवेदी मात्र होइन, थोरै जग्गा भएका अधिकांश सर्वसाधारणले घर–नक्सा पास नहुने गरेको बताए । इटहरी–१९ का विनम गिरीले पनि थोरै जग्गा भएकै कारण घर बनाउन नपाएको बताए । ‘लामो समय विदेशमा बसेर कमाएको पैसाले घर बनाउने सोचेको थिएँ, नक्सा पास नहुँदा समस्यामा छु’ उनले भने, ‘५ धुर जग्गा थियो, दुवैपट्टि बाटो हुँदा इटहरी उपमहानगरले नक्सा पास नगर्दा समस्या भयोे ।’
कम जग्गा भएको घडेरीको नक्सा पासमा इटहरी उपमहानगरपालिकाले कडाइ गरेसँगै थोरै क्षेत्रफल भएका जग्गाधनी समस्यामा परेका छन् । गिरी भन्छन्, ‘हातमा जग्गाको लालपुर्जा हुँदाहुँदै पनि सरकारी नीति नियमका कारण सुकुम्बासी हुनुपरेको छ । आफ्नै जग्गामा घर बनाउन नपाउने भइयो ।’ उनका अनुसार थोरै क्षेत्रफल जग्गा भएकाहरू कहाँ जाने ? कहाँ बस्ने ? कर तिर्न पाउने कि नपाउनेलगायत अन्योलमा परेका छन् ।
यता इटहरी उपमहानगरपालिकाका इञ्जिनियर विकास भट्टराईले थोरै जग्गा भएकाहरूको मापदण्डअनुसार नक्सा पास हुने बताए । ‘तर थोरै जग्गामा दुईवटा बाटोले भेटेको भए मापदण्डमा ५ फुट बाटोबाट छोड्ने जग्गा नपुगे पास हुँदैन’– उनले भने । सरकारले ल्याएको यो अवधारणाभन्दा अगाडि शहरी क्षेत्रमा थोरै क्षेत्रफलको जग्गा किनेर राख्ने जग्गाधनीको संख्या बढी छ । सरकारले ल्याएको यो नीतिबाट इटहरी उपमहानगरपालिकाका धेरै जग्गाधनी समस्यामा परेको बताइएको छ ।
नयाँ नियमले सास्ती
जग्गा व्यापारीहरूले केही वर्षअघि प्लटिङ गरेको जग्गाबाट सर्वसाधारणहरूले सास्ती बेर्होनु परेको छ । साँघुरो बाटोमा जग्गा किन्नेहरू अहिले समस्यामा पर्न थालेका छन् । इटहरी उपमहानगरपालिकाले २० फुटे बाटो हुनुपर्ने नियम ल्याएसँगै थोरै जग्गा किनेर घर बनाउन सुरसार गर्नेहरूलाई समस्या भइरहेको सर्वसाधारण बताउँछन् ।
जग्गा प्लटिङको लागि सरकारी पक्षबाट स्पष्ट नीति आएको छैन । व्यवसायीले आफ्नो विवेकअनुसार जग्गाको अव्यवस्थित कारोबार गर्दै आएका छन् । व्यवसायीले गरेको प्लटिङ सरकारी निकायबाट अनुगमन भएको छैन । त्यसको व्यवस्थापनमा आवश्यक निर्देशन पनि दिइएको छैन ।
भवन संहितामा कडाइ गर्दै उपमहानगर
इटहरीलाई भूकम्पीय दृष्टिले सुरक्षित नगर बनाउन घरधनी अभिमुखीकरणलाई तीव्र बनाइएको छ । इटहरी उपमहानगरले भवन संहितालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न धमाधम घरधनी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । इटहरी उपमहानगर घरनक्सा शाखा प्रमुख विकास भट्टराईका अनुसार गत माघ २ गतेदेखि हालसम्ममा करिब दुईसय घरधनीलाई अभिमुखीकरण तालिम दिइसकिएको छ ।
नयाँ घर बनाउन लागेका ४४ जनालाई अभिमुखीकरण गरिएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको प्राविधिक सहयोगमा अभिमुखीकरण गरिएको हो । भूकम्पसम्बन्धी आधारभूत जानकारी, घर दह्रो बनाउने दश बुँदा, निर्माण सामग्रीको गुणस्तर, निर्माण प्रविधि गुणस्तर, नक्सापास मापदण्डलगायतका विषयमा घर–घरमा गएर कार्यक्रम सञ्चालन गर्दै आएको भट्टराई बताउँछन् ।