देउराली/ धरान–१३ अमर बस्तीस्थित सुकुम्बासी टोलमा बस्दै आएका चन्द्रबहादुर राईले उनकी श्रीमती कुमारी सुब्बाको जीवन बचाइदिन आग्रह गरेका छन् ।  आफन्त कोही पनि नभएको बताउने  सुकुम्बासी बस्तीमा बस्दै आएका चन्द्रबहादुर यतिबेला श्रीमतीको उपचारका लागि छट्पटाइरहेका छन् ।
 
मुटुमा चारवटा प्वाल र मासु पलाएको पाइएपछि नेपाल अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र धरानको सहयोगमा २०७४ माघमा शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा शल्यक्रिया गराएर फर्केका राई यतिबेला शल्यक्रिया गर्दा बाँधिएको करङ हल्लिन थालेपछि पुनः शल्यक्रियाका लागि खर्च जुटाउन नसक्दा छट्पटाइरहेका हुन् ।
 
सानैदेखि मुटुमा समस्या देखापरेको श्रीमती कुमारीलाई करिब दश वर्षअगाडि श्वास–प्रश्वासमा समस्या आएपछि विराटनगरको नेबेल अस्पतालमा उपचार गर्न लाँदा डाक्टरले मुटुमा चारवटा प्वाल र बाहिरी भागमा मासु पलाएको बताउँदै काठमाडौंस्थित गङ्गालाल हृदयरोग केन्द्रमा जान भने पनि आर्थिक अभावका कारण काठमाडौं जान नसक्दा धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा लाँदा पनि सोहि कुरा बताएको थियो ।
 
अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्रको सहयोगमा गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेकी उनको शल्यक्रिया भएको केन्द्रका कार्यकारी निर्देशक सुनिल खड्काले बताए । खड्काले राईको अत्यन्तै नाजुक अवस्था भएकाले सबैले सहयो गरिदिन पनि अनुरोध गरेका छन् । शल्यक्रिया गर्ने क्रममा थाइराइड भएपछि ३० दिनसम्म आइसीयुमा राखेर उपचार गरी केही सामान्य भएर फर्किएकी राईकी श्रीमतीलाई हाल उनको छातीको करङमा राखिएको वायर खुकुलो भएका कारण पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ ।
 
राई भन्छन्, ‘मेरो केही पनि छैन, सुकुम्बासी क्षेत्रमा बस्छु, त्यो पनि अर्कैको जग्गा हो । हारगुहार गर्ने ठाउँमा गरिसकेँ अब तपाईंहरूले मेरी श्रीमतीलाई बचाइदिनु पर्यो ।’
 
शल्यक्रिया गरेको ठाउँमा लगाइएको वायर राम्रोसँग नलागेकाले सानो स्टिचमात्र गरेर पठाइदिएको थियो अब फेरि त्यसलाई दोहोर्याएर अप्रेसन गरी राम्रोसँग वायर लगाउनु पर्ने भएको छ । त्यसका लागि करिब डेढलाख लाग्ने डाक्टरहरूले बताएका छन् । केन्द्रका सचिव, उमेश मिप्चन तामाङ भन्छन्, ‘अस्ति पठाइसक्नुपर्ने हो तर खर्चकै अभावका कारण रोग बोकेर बस्नु परिरहेको छ ।’
१७ वर्षीय छोरा र १३ वर्षीया छोरीसहित चार जनाको परिवार छ । सामान्य मजदुरी गरेर गुजारा गर्दै आएका राई परिवारमा यतिबेला श्रीमतीको उपचार मात्र नभएर जग्गावालाले त्यहाँबाट लखेट्ने पो हो कि भन्ने पिरले पनि सताएको छ ।