बिर्तामोड/ चौथो संस्करणको मगमग झापा गोल्डकपको उपाधिका लागि घरेलु टोली झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो पटक आज (सोमबार) आमने–सामने हुँदैछन् ।
आयोजक टोली झापा–११ यसअघिका तीनवटै संस्करणको झापा गोल्डकपको उपविजेता हो । आर्मीले भने पहिलो र तेस्रो संस्करणको झापा गोल्डकपको उपाधि चुमेको थियो । यसअघि दुईवटा संस्करणमा आर्मीसँग व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ झापाली टोली मैदान उत्रनेछ । झापालाई घरेलु दर्शकको समेत बलियो साथ रहनेछ । आर्मी भने झापालाई उसकै भूमिमा तेस्रो पटक हराउने दाउमा छ ।
यो संस्करणको झापा गोल्डकपमा सहारा पोखरा फुटबल क्लब, हङ्कङ नेप्लिज एकाडेमी र थ्रीस्टार क्लबलाई पराजित गर्दै झापा–११ ले फाइनलसम्मको यात्रा तय गरेको हो । सोझै क्वार्टरफाइनलबाट प्रवेश पाएको आर्मीले भने एपीएफ र क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पाखा लगाउँदै उपाधिनजिक पुगेको हो । चार वर्षयता बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा झापा र आर्मी दुईपटक जम्काभेट भइसकेका छन् । दुईपटक नै आर्मीले बाजी मार्यो । आज हुने तेस्रो भिडन्तमा भने घरेलु दर्शकलाई निराश नबनाउने आफूहरूको लक्ष्य रहेको झापा–११ का प्रशिक्षक प्रवेश कटुवाल बताउँछन् ।
‘यसअघिका तीनवटा संस्करणमा पनि हाम्रो क्षमताले गर्दा नै फाइनलसम्म पुगेका हौँ, तर तीनपटक नै उपविजेतामा सीमित हुनुपर्यो’ झापाका प्रशिक्षक कटुवाल भन्छन्, ‘यसपटक टिम निकै बलियो छ, हामी उपाधि रक्षा गर्ने दाउमा छौँ ।’ तर, आफूहरूको स्ट्राइकिङमा समस्या रहेको उनले स्वीकार गरे । झापाको डिफेन्स र मिडफिल्ड बलियो देखिए पनि स्ट्राइकरहरू चल्न सकेका छैनन् । नियमित कप्तान कर्ण लिम्बूको घुँडामा समस्या रहेका कारण यसअघिका हरेक खेलमा उनले पूरै ९० मिनेट मैदानमा बिताएनन् । झापाली प्रशिक्षक कटुवालले विदेशी खेलाडी फ्रान्सिसलाई स्ट्राइकिङमा राखेका छन् । तर, उनी निकै अल्छी देखिएको कटुवालले बताए ।
झापाका कप्तान कर्ण लिम्बूले भने घरेलु मैदानमा खेल्दा प्रेसर नहुने बताए । ‘होम ग्राउण्डमा दर्शकको क्राउड हुँदा झन् बढी जोश बढ्छ’ –उनले भने । तर, चोटका कारण कर्णले फाइनल खेल्ने या नखेल्ने तय भइनसकेको प्रशिक्षक कटुवालले बताए । झापाली मैदानसँग परिचित आर्मीले यो पटक पनि उपाधि उचाल्ने दाबी गरेको छ । ‘मेहनतको प्रतिफलस्वरूप फाइनल पुगेका छौँ’ आर्मीका कप्तान भरत खवास भन्छन्, ‘झापाली मैदान र माटोले हामीलाई चिनिसक्यो, यहाँ उपस्थित हुने दशौँ हजार दर्शकको भीड हाम्रा लागि ठूलो कुरा हो ।’
ट्रफी उचाल्नैका लागि झापा गोल्डकपमा सहभागी भएको बताएका भरतले झापा राम्रो र बलियो टिम भएको प्रतिक्रिया दिए । झापाबाट खेल्ने विदेशी खेलाडी पनि उत्कृष्ट रहेको उनी बताउँछन् । ‘पाएका अवसरहरू सदुपयोग गर्न सक्यौँ भने हामी जित्छौँ’ भरतले भने, ‘फिजिकल फिटनेश र आक्रामक शैली नै हाम्रो गहना हो ।’ आर्मीका प्रशिक्षक चुनबहादुर थापाका अनुसार २३ वर्षमुनिको क्लोज क्याम्पमा आर्मीका तीनजना खेलाडी गएका छन् । झापा गोल्डकपकै सेमीफाइनल खेल्दा एकजना खेलाडी घाइते भएर शल्यक्रिया गरिएको छ । ‘तर, पनि हाम्रा खेलाडी उत्कृष्ट छन्, टिममा कुनै असर परेको छैन’ –उनले भने । प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजन झापाकै मगमग चाउचाउले गरेको छ ।